प्रतिबन्धित नेकपाका नेता विरहीको उपचारमा बाधा नपुर्याउन अदालतको आदेश
प्रहरीले राज्य विरुद्धको कसुरमा मुद्दा दर्ता गरेका सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरही उपनाम भएका छविलाल सापकोटाको उपचारमा कुनै बाधा नपुर्याउन चितवन जिल्ला अदालतले आदेश गरेको छ ।
न्यायाधीश हेमन्त रावलको इजलासले नेता विरहीको स्वास्थ्य अवस्था नाजुक रहेकाले उनको उपचारकाे सबै व्यवस्था मिलाउन समेत भनेको छ ।
चितवनको आदेशपछि उनलाई अर्को कसुरमा धनुषा पठाउने प्रहरीको माग समेत अदालतले खारेज गरिदिएको छ । उनलाई साधारण तारेखमा राख्दै उपचारपछि चितवन जिल्ला अदालतमै उपस्थित गराउन आदेशमा भनिएको छ।
न्यायाधीश रावलको इजलासमा आइतबार भएको थुनछेक बहसमा नेता विरहीलाई अस्पतालले स्ट्रेचरमा राखेर लगेको थियो । उनलाई ढाडको उपचार गराइरहेका समय चितवनको एउटा अस्पतालबाट २३ वैशाखमा नियन्त्रणमा लिएको थियो।