कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा उभिनुपर्ने प्रस्ताव
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्नुपर्ने प्रस्ताव पेश भएको छ* ।
केन्द्रीय मुख्यालय सानेपामा जारी बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्नुपर्ने प्रस्ताव आएको हो ।
कांग्रेसकै आग्रहमा १० जेठमा दर्ता भएको संविधान संशोधन विधेयक स्थगित गरिएको छ। १४ जेठमा प्रतिनिधिसभामा पेश गर्ने कार्यसूची तय भएपनि कांग्रेसकै आग्रहमा संविधान संशोधन विधेयक अगाडि बढ्न सकेको थिएन।
शनिबार केन्द्रीय कार्य समितिको बैठक बोलाएका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मागेका थिए।
१३ जेठमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको पक्षमा उभिन दलहरुलाई आग्रह गरेका छन्। सरकारले लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्शा जारी गरेको छ।
सरकारको उक्त निर्णयअनुसार, संविधानको अनुसूची–३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक– २०७७ संसद सचिवालयमा दर्ता भएको छ। कांग्रेससँग प्रतिनिधिसभामा ६३ सांसद छन्।
संविधान संशोधन गर्न दुई तिहाइ आवश्यक पर्ने भएपनि २७५ संसदीय प्रतिनिधिसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग १७४ सांसद मात्रै छन्।
*सच्याइएको