अर्थ/बजार विहीबार, जेठ १५, २०७७

बजेटः कहाँ बढ्यो, कहाँ घट्यो ?

हिमालखबर

बजेटः कहाँ बढ्यो, कहाँ घट्यो ?

आगामी आर्थिक वर्षमा बजेटको आकार घटेपनि स्वास्थ्य, सामाजिक सुरक्षा, शिक्षा लगायतका क्षेत्रको बजेट बढेको छ ।

आगामी आर्थिक वर्षको बजेटको कार्यगत व्यय अनुमानअनुसार, स्वास्थ्य क्षेत्रका लागि रु. १ खर्ब १५ अर्ब बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ७.८० प्रतिशत हो । चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको ५ प्रतिशत मात्रै बजेट विनियोजन गरिएको थियो ।

आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई मात्रै रु. ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटको कार्यगत व्ययअनुमान अनुसार, यो वर्ष कुल बजेटको ५ प्रतिशत रहेको सामाजिक सुरक्षाको बजेट आगामी वर्ष ६.६३ प्रतिशत पुगेको छ। आगामी वर्ष सरकारले सामाजिक सुरक्षामा रु. ९७ अर्ब ७८ करोड खर्च गर्न रकम छुट्याएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा कुल बजेटको ११ प्रतिशत रहेको शिक्षा क्षेत्रको बजेट आगामी आर्थिक वर्षमा कुल बजेटको ११.६८ प्रतिशत पुगेको छ । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा रु. १ खर्ब ७२ अर्ब बजेट विनियोजन गरिएको छ ।

सरकारले नेपाली सेनालाई रिझाउन रक्षा क्षेत्रको बजेट पनि बढाएको छ । चालु आर्थिक वर्षमा कुल बजेटको ३ प्रतिशत रहेको रक्षा क्षेत्रको बजेट आगामी आर्थिक वर्षका लागि कुल बजेटको ३.३४ प्रतिशत विनियोजन गरिएको छ ।

तर, आगामी आर्थिक वर्षमा वातावरण संरक्षणको क्षेत्रको बजेट भने ह्वात्तै घटेको छ । चालु आर्थिक वर्षमा कुल बजेटको २ प्रतिशत रहेको वातावरण संरक्षण क्षेत्रको बजेट आगामी आर्थिक वर्षका लागि कुल बजेटको ०.७९ प्रतिशत मात्रै विनियोजन गरिएको छ। वातावरण संरक्षणका लागि गत वर्ष रु. २६ अर्ब ७९ करोड बजेट विनियोजन गरिएकोमा आगामी वर्ष रु. ११ अर्ब ६६ करोड मात्रै विनियोजन गरिएको छ ।

असाध्यै धेरै चर्चा गरिएको कृषि क्षेत्रमा खासै बजेट बढेको छैन । चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रु. ३४ अर्ब ८० करोड (कुल बजेटको २.२७ प्रतिशत) बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड (कुल बजेटको २.८१ प्रतिशत) बजेट विनियोज गरिएको छ ।

आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पनि घटेको छ । यो मन्त्रालयले चालु आर्थिक वर्षमा रु. १ खर्ब ६३ अर्ब (कुल बजेटको १०.६६ प्रतिशत) बजेट पाएकोमा आगामी वर्ष रु. १ खर्ब ३८ अर्ब (कुल बजेटको ९.४१ प्रतिशत) मात्रै बजेट पाएको छ ।

प्रतिकृया दिनुहोस