रेलमार्गका लागि रु. ८ अर्ब ६६ करोड छुट्याइयो
सरकारले आगामी आर्थिक वर्षमा पनि रेलमार्गलाई प्राथमिकता दिने भएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै विभिन्न रेलमार्ग निर्माण गर्न रु.८ अर्ब ६६ करोड रकम विनियोजन गरेको बताए।
रसुवागढी–काठमाडौं, वीरगञ्ज–काठमाडौं रेलमार्गको अध्ययन तथा पूर्व पश्चिम रेलमार्ग सहितका रेलमार्ग निर्माण गर्न यो रकम छुट्याइएको हो। त्यस्तै, कोशी, नारायणी लगायतका नदीमा पानीजहाज चलाउन पनि रकम विनियोजन गरिएको छ।
कोरोनाभाइरसले सिर्जना गरेको परिस्थितिका कारण अर्थव्यवस्थामा गहिरो संकट उत्पन्न भएपनि सरकारले भने रेलमार्ग र जलमार्गका आयोजनालाई बजेट छुट्याएको छ । ११ चैतमा बन्दाबन्दी शुरु भएसँगै सरकारको मुख्य आम्दानीको स्रोत राजस्व व्यापक रुपमा घटेको छ।
त्यस्तै, सार्वजनिक स्वास्थ्य तथा रोजगारी सिर्जनासहित अर्थतन्त्रको पुनर्स्थापनमा ठूलो रकम खर्च गर्नुपर्ने भएपछि दायित्व ह्वात्तै बढेको छ।
आय घटेको र दायित्व बढेको बेला अत्यावश्यक र रणनीतिक महत्वका आयोजनामा मात्र बजेट विनियोजन गर्न अर्थशास्त्रीहरुले दिएको सुझाव विपरीत सरकारले रेल, पानीजहाजजस्ता विवादास्पद परियोजनालाई बजेट विनियोजन गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंलाई चीन जोड्ने तथा पूर्वपश्चिम रेलमार्ग बनाउने तथा भारत हुँदै समुद्रसम्म जोड्ने पानीजहाज चलाउने घोषणा गर्दै आएका छन् । यही उद्देश्यका लागि पानीजहाज कार्यालय समेत स्थापना भएको छ।