कोरोना परीक्षणका लागि निजी स्वास्थ्य संस्थामा १५ हजार रूपैयाँ शुल्क तोकिएको छैन : मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षण गराउन निजी स्वास्थ्य संस्थाहरूमा १५ हजार रूपैयाँ शुल्क तोकिएको भनेर सार्वजनिक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परीक्षणको दायरालाई व्यापक बनाउन विदेशी कूटनीतिज्ञहरू र स्वदेशी नागरिकसमेतको आग्रहमा परीक्षण गर्न दिने भनी निर्णय भएको तर शुल्क नतोकिएको भन्दै मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीले एक विज्ञप्ति जारी गरेका छन् ।
मन्त्रालयले लाग्ने शुल्क, प्रयोगशालाको स्वरुप, सुरक्षा प्रबन्धलगायत विषयमा छलफल र निर्णय हुन बाँकी रहेको जनाएको छ ।
सार्वजनिक अस्पतालमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशी नागरिकको अनुरोधमा नै मन्त्रालयले सशुल्क परीक्षणको व्यवस्था गर्न लागेको मन्त्रालयको भनाइ छ।
विज्ञप्तिमा पटक-पटक भ्रमपूर्ण समाचार सम्प्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानून बमोजिम कडा कारबाही गरिनेसमेत चेतावनी दिँदै निःशुल्क परीक्षण गराउने कि सशुल्क परीक्षण गराउने व्यक्तिको इच्छामा भर पर्ने मन्त्रालयले जनाएको छ ।