समाचार सोमबार, जेठ ५, २०७७

पाँच दिनमै थपिए १ सय ३८ कोरोना संक्रमित, प्रदेश ५ धेरै प्रभावित

हिमालखबर

पाँच दिनमै थपिए १ सय ३८ कोरोना संक्रमित, प्रदेश ५ धेरै प्रभावित

कोरोनाभाइरसका संक्रमणका हिसाबले हालसम्म ३१ जिल्लाका बासिन्दा संक्रमित भेटिएका छन्।

कुल संक्रमितहरुको स्थायी ठेगाना रहेको जिल्लाको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

प्रदेशगत आधारमा कोरोनाभाइरस संक्रमितको संख्याको दृष्टिले प्रदेश-५ सबैभन्दा प्रभावित देखिएको छ। हालसम्म प्रदेश-५ मा सबैभन्दा बढी १ सय ५९ जना संक्रमित पुष्टि भएका छन्। जसमध्ये बाँके नरैनापुर गाउँपालिकाका २४ वर्षीय युवकको आइतबार क्वारेन्टिनमा राखिएको ठाउँमै मृत्यु भएको थियो।

प्रदेश-५ को बाँकेमा सोमबार एकैदिन ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण देखिएको छ।

प्रदेश-५ पछि प्रदेश-२ कोरोना संक्रमणबाट बढी प्रभावित देखिएको छ। त्यहाँ हालसम्म १ सय ३२ जना संक्रमित भएका छन्। सोमबार मात्रै प्रदेश-२ को रौतहटमा आठ र बारामा एक जना गरी नौ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश-१ मा संक्रमितको संख्या ४० पुगेको छ। यस्तै, बागमती प्रदेशमा हालसम्म १८ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको छ। १ जेठमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाभाइरस परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

उनले २५ वैशाखमा मात्रै काठमाडौंको शिक्षण अस्पतालमा बच्चालाई जन्म दिएकी थिइन्। उनको शिशुसहित परिवारका चार जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ जना र गण्डकी प्रदेशमा ३ जनामा संक्रमण देखिएको छ। कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन्।

कुल संक्रमित ३ सय ५७ मध्ये ३६ जना उपचारपछि निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन्।

पाँच दिनमै १ सय ३८ नयाँ संक्रमित

मुलुकमा कोरोनाभाइरस संक्रमितको संख्या विस्तार हेर्दा पछिल्लो समय संक्रमित थपिने दर चिन्ताजनक देखिन्छ। पछिल्लो पाँच दिनमै एक सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

जेठ महीनामा मात्रै पछिल्लो पाँच दिनमै १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। वैशाख मसान्तसम्म २ सय १९ संक्रमित रहेकोमा ५ जेठसम्ममा १ सय ३८ जना थपिंदा कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ।

नेपालमा फागुन मसान्तसम्म एक जनामा संक्रमण देखिएको थियो भने चैत मसान्तसम्म १२ जना संक्रमित भएका थिए।

प्रतिकृया दिनुहोस