बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव ११ दिनपछि उठाइयो
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएका पाल्पाका बाबुराम थापाको शव उठाइएको छ। आफन्तले विभिन्न माग राखेर शव बुझ्न मानेका थिएनन्।
प्रदेश–५ को सामाजिक विकास मन्त्रालयमा आज (बुधबार) मन्त्री सुदर्शन बरालको उपस्थितिमा आयोजित सर्वपक्षीय बैठकमा माग पूरा गर्ने सहमति जुटेपछि परिवारले शव बुझेको हो। परिवारलाई राहत रकम, मृतक थापाकी श्रीमतीलाई रोजगारी र दुई छोरा उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने लिखित सहमति भएको छ।
बैठकमा सहभागी मानवअधिकारकर्मी गोविन्द्र खनालले मृतक बाबुरामको परिवारलाई राहत दिने गरी आधारभूत राहत कोष बनाउने सहमति बनेको बताए। सरकारी निकायबाट रु.५ लाख ५० हजारको आधारभूत कोष बनाइएको र उक्त कोषमा समाजसेवी दाताहरूको सहयोगबाट समेत थप गरी रु.८ लाख ४१ हजार १०१ जम्मा गरिएको छ।
मानवअधिकारकर्मीहरु, नागरिक समाज लगायतको रोहवरमा शव उठाउन पहल भएको हो।
दुबईबाट चैत पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए। अस्पतालमा भर्ना भएको चौथो दिन धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो। उनको मृत्यु भएको दोस्रो दिन कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो।
तर, परिवारले उपचारमा लापरबाही भएको भन्दै क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान राखेका थिए।
– विक्रम खड्का, बुटवल