संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य
संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको संसद् सचिवालयले घोषणा गरेको छ। आज (सोमबार) मध्यरातिदेखि अधिवेशन अन्त्य हुने सचिवालयले सूचना टाँस गरेर जनाएको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकले संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको थियो। सोही आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद् सचिवालयमा पठाएपछि अधिवेशन अन्त्य गरिएको हो।
संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीको हस्ताक्षर रहेको सूचनामा दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भनिएको छ।
मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) का कारण संसदको चालू पाँचौं अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।
प्रतिनिधि सभाको बैठक संसद् सचिवालयले ७ चैत यता सूचना टाँस गरेर सार्दै आएको थियो भने राष्ट्रिय सभाको बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको थियो।