रौतहटमा विपन्नलाई स्थानीय तहकाे राहत
रौतहटका केही स्थानीय तहले विपन्न श्रमिकलाई राहत दिन शुरु गरेका छन् । लकडाउनमा काम गर्न नपाएपछि अति विपन्न श्रमिक परिवारलाई बाँच्न गाह्रो भएको भन्दै सबैतिरबाट त्यस्ता श्रमिकलाई राहत दिनुपर्ने माग हुन थालेपछि रौतहटका केही स्थानीय तहले अति विपन्न श्रमिक परिवारलाई राहत दिन शुरु गरेको हो ।
रौतहटको गढीमाई नगरपालिकाले हरेक वडाका एक सय अतिविपन्न परिवारलाई राहत बाँड्दै छ । सोमवार वडा नं. ९ का एकसय परिवारलाई २० किलो चामल, ४ किलो दाल ३ किलो आलु, एक पोका नुन र एक लिटर खाने तेल बाँडेको छ ।
मेयर श्यामप्रसाद यादव र निमित्त प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रहरी चौकी वरियारपुरमा विपन्न परिवारलाई बोलाएर राहत प्रदान गरेका हुन् ।
“अति विपन्न श्रमिक परिवारलाई पहिले नै छनोट गरी औपचारिक रूपमा खबर गरी बोलाइएकाले राहत वितरण निष्पक्ष तथा व्यवस्थित भएको छ”, मेयर यादवले भने “पहिलो चरणमा हरेक वडाका एक सय अति विपन्न परिवारलाई छनोट गरिसकिएको र दोस्रो चरणमा अन्य प्रभावितलाई पनि समेट्ने छौं ।”
रौतहटको मौलापुर नगरपालिकाले पनि मेयर रिनाकुमारी साहको पहलमा अति विपन्न श्रमिक परिवारलाई २५ किलो चामलसहित दाल, तरकारी, नुन, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरेको छ ।
यसैगरी देवाही गोनाही नगरपालिकाले पनि नगर क्षेत्रका अति विपन्न १२५ श्रमिक परिवारलाई प्रतिपरिवार २५ किलो चामलसहित दाल, आलु, नुन, खानेतेल, बेसार लगायतका सामग्री मेयर धर्मेन्द्र पटेल र उपमेयर परनियादेवीले वितरण गरेका छन् ।
रौतहटको वृन्दावन नगरपालिकाले पनि अति विपन्न श्रमिकलाई राहत दिने घोषणा गरेको छ । मेयर रामसिनेही यादवले नगरभित्रका दलित तथा अति विपन्न परिवारको विवरण संकलन भइसकेको बताउँदै नगरभित्रका पाँच हजार दुई सय परिवारलाई तत्काल राहत वितरणको काम हुने बताएका छन् ।
लकडाउन लम्बिँदै गएपछि दिनहुँ काम गरेर खाने अति विपन्न श्रमिकलाई समस्या पर्दै गएको छ । काम गरी खाने मजदुरलाई लकडाउनमा समस्या भएपछि स्थानीय तहले केही राहत दिन थालेको छ । रौतहटका अन्य केही स्थानीय तहले पनि विपन्न परिवारलाई छाक टार्न सहयोग गर्न प्राविधिक काम गरिरहेको बुझिएको छ ।
अति विपन्न श्रमिक परिवारलाई सामान्य भए पनि राहत दिँदा सामाजिक संघसंस्थाहरुले स्वागतयोग्य कदम भएको भनी प्रशंसा गरेका छन् ।
सञ्जय मित्र, रौतहट