बन्दाबन्दीको पालना गर्दै राउटे समुदाय, मास्क लगाउन थाले
लक्ष्मी भण्डारी/सुर्खेत
दैलेखको गुराँस गाउँपालिकाले जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदायको नियमित रुपमा स्वास्थ्य जाँच गर्दै आएको छ ।
विश्वमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढिरहेका बेला गाउँपालिकाले राउटे समुदायमा स्वास्थ्य जाँच गर्दै आएको हो । १५१ जना सदस्य रहेको समुदाय अहिले भेरीगंगा नगरपालिका वडा नं. २ स्थित छिन्चु खोला किनारमा बस्दै आएको छ ।
घुमिरहने राउटे समुदायलाई गुराँस गाउँपालिकाले नै परिचयपत्र बनाइ दिएकाले उनीहरु जता गए पनि गुराँस गाउँपालिकाले बढी हेर्ने गरेको छ ।
गाउँपालिकाले राउटे समुदाय सबैको ज्वरो नापेर मास्क दिएको हो । मास्क प्रयोग गर्ने तरिका सिकाएर कोरोनाभाइरसको जोखिमको बारेमा बताएपछि पछि उनीहरु मास्क लगाउन तयार भएका हुन् ।
राउटे समुदायको स्वास्थ्य जाँच गरेकी अनमी सुमन काफ्लेले समुदायका कसैमा पनि उच्च ज्वरो नभएको बताइन् । कोरोना संक्रमण रोक्नका लागि राउटे बस्तीमा बन्दाबन्दीलाई कडाइ गरिएको छ । उनीहरुलाई उनीहरु बसेको ठाउँभन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाहिरबाट पनि कसैलाई बस्तीमा प्रवेश दिइएको छैन ।
राउटे महामुखिया महिनबहादुर शाहीले कोरोना नलागोस् भनेर मास्क लगाइएको बताए । सिंगो समुदाय एउटै ठाउँमा बस्ने भएकाले पनि आफूहरुलाई मास्क र अन्य सरसफाइ आवश्यक रहेको उनले बताए । शाहीले भने, “सरकारको निर्देशन अनुसार अहिले हामी पनि बस्तीभन्दा बाहिर गएका छैनौं र कसैलाई नजान भनेका छौं । हामीलाई मास्क, साबुन र अन्य स्वास्थ्य सामग्रीहरु आवश्यक छ ।”
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले राउटे समुदायलाई कोरोना संक्रमित हुनबाट जोगाउन नियमित स्वास्थ्य जाँच सुरु गरिएको बताए । उनले भने, “आवश्यक परेको बेला जुनसुकै बेला पनि स्वास्थ्यकर्मी खटाउँछौं, अन्य समयभन्दा यो बस्तीमा बढी सचेत भएका छौं, अहिलेसम्म सबै स्वस्थ छन् ।” अहिलेसम्म राउटे बस्तीमा कुनै पनि रोगको संक्रमण नदेखिएको भन्दै लोपोन्मुख जाति बचाउन निगरानी बढाइएको उनले बताए ।
‘अहिलेसम्म राउटे बस्तीमा कुनै किसिमको रोगको संक्रमण देखिएको छैन,’ उनले भने, ‘नियमित स्वास्थ्य जाँचका साथै भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाईमा केन्द्रीत हुन्छौं।’ उनले बस्तीलाई स्वच्छ राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका कामहरु गरिने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले गाउँपालिका अहिले सचेतनाको कामलाई जोड दिएर अघि बढेको बताए । "हाम्रो काम भनेको विपद्को बेलामा निरन्तर रुपमा सचेतना जगाउने हो’ प्रमुख प्रशासकीय अधिकृत बूढाले भने, ‘यस्तो अवस्थामा चेतना जगाउनु नै हाम्रो मुख्य भूमिका हो ।"
गाउँपालिकाले स्थापना गरेको विपद् कोषमा रु.एकलाख बढी रकम जम्मा भएको छ । गाउँपालिकाका सबै वडामा बाहिरबाट आउने व्यक्तिहरुको तथ्यांक लिनुको साथै स्वास्थ्यकर्मीहरु खटाएर स्वास्थ्य जाँच गरेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताए । बाहिरबाट आएका सबैजना क्वारेन्टिनमा रहेको बुढाले बताए ।
गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भनेर खाद्यान्न ढुवानी गरेर सुपथ मुल्यमा सहकारीहरुमार्फत खाद्यान्न वितरण गरिने भएको छ । जसको लागि गाउँपालिकाले करिब रु.१४ लाख छुट्याइएको छ ।
गाउँपालिकाले कोही बिरामी परेमा लैजानका लागि दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको गाउँपालिकाका उपाध्यक्ष दिपा बिसीले बताइन् । उनले भनिन्, “कोरोनाको संक्रमण जोखिम कम गर्नका लागि गरिएको बन्दाबन्दीकै कारण कसैले पनि उपचार नभएर ज्यान गुमाउनु नपरोस् भनेर एम्बुलेन्स तयारी अवस्थामा राखेका हौं ।"
गाउँपालिकामा भारतबाट आएका व्यक्तिहरुको लगत संकलनसँगै उनीहरुलाई खोज्दै स्वास्थ्यकर्मीहरु घरघरमै पुगेर स्वास्थ्य जाँच गरेका छन् भने कोही भेटिएमा राख्न क्वारेन्टिन पनि राखिएको छ ।
स्वास्थ्यकर्मीहरु नै सुरक्षित हुनका लागि उनीहरुलाई आवश्यक पर्ने सामग्री पनि दिइएकाले कुनै जोखिम नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।