मिर्गौला बिरामीलाई नि:शुल्क गाडी सुविधा
स्याङ्जाको पुतलीबजार नगरपालिकाले नियमित डायलसिस गराइरहेका मिर्गौला बिरामीहरुलाई बन्दाबन्दी अवधिमा नि:शुल्क गाडी उपलब्ध गराएको छ।
बुधबारदेखि बिरामीहरुका लागि गाडी सेवा उपलब्ध गराउन थालेको नगर प्रमुख सिमा कुमारी क्षेत्रीले बताइन्। बन्दाबन्दीको अवधिमा भाडा बढेकाले पनि बिरामीहरुलाई निशुल्क सेवा दिएको नगर प्रमुख क्षेत्रीले बताइन्।
उनले भनिन्, “हप्तामा तीन पटकसम्म डायलसिस गर्न जानुपर्ने बिरामीका लागि थप आर्थिक भार परेको थाह भएपछि यो निर्णय गरेका हौं।” नगरपालिकाले ग ३ च ११०० नम्बर प्लेटको स्कारपियो गाडी भाडामा लिएर डायलसिस गर्न जानेहरुलाई सुविधाको लागि उपलब्ध गराएको हो ।
हालसम्म सात जना मिर्गौला बिरामीहरुले डायलसिस गर्न जाने मिति, समय र अस्पतालको नाम टिपाएका छन्। बुधबार एक जनाले र बिहीबार दुई जनालाई डायलसिस गर्न पोखराका विभिन्न अस्पताल लगिएको छ।