अमेरिकामा संक्रमित संख्या दुई लाख नाघ्यो, एकै दिन ८८४ जनाको मृत्यु
कोरोना महामारीबाट अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । अमेरिकामा गएको २४ घण्टामा मात्रै ८८४ जनाको मृत्यु भयो ।
एकै दिन यति धेरैको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो । यो सँगै, अमेरिकामा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । अमेरिका भन्दा बढी यूरोपेली मुलुक इटाली र स्पेनमा मात्रै मृत्यु संख्या छ । इटालीमा १३ हजार र स्पेनमा नौ हजारको मृत्यु भएको छ । अमेरिका पछि फ्रान्समा चार हजारको मृत्यु भएको छ ।
विश्वका २०३ देशमा फैलिसकेको महामारीबाट अहिलेसम्म ४७ हजार बढीको मृत्यु भएको छ । संक्रमित संख्या भने अमेरिकामा अत्याधिक बढेको छ । एक महीनाको अवधिमा अमेरिकामा संक्रमित संख्या दुई लाख नाघेको छ । १ मार्चदेखि देखिन थालेको महामारीबाट अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजार संक्रमित भएका छन् ।
महामारीबाट निको हुनेको संखया भने अमेरिकामा अत्यन्तै न्यून देखिएको छ । अमेरिकामा अहिलेसम्म आठ हजारको मात्रै निको भएको छ । निको बनाउनेमा चीन सवैभन्दा बढी सफल छ ।
८१ हजार संक्रमित मध्ये चीनमा ७६ हजार बिरामी निको भइसकेका छन् भने दुई हजार मात्रै बिरामी छन् । जुन तथ्य विश्वका सवै देश भन्दा राम्रो हो । विश्वभर नौ लाख ३५ हजार संक्रमित मध्ये एक लाख ९४ हजार मात्रै निको भएका छन् । नेपालमा पाँच जनामा संक्रमण देखिएकोमा एक जनालाई निको भइसकेको छ ।