बन्दाबन्दी कडा बनाउन भित्री सडकमा अवरोध, अत्यावश्यक ढुवानीमा समस्या
बन्दाबन्दीलाई कडा बनाउनका लागि टोल टोलका सडकमा बार लगाउँदा अत्यावश्यक सामानको आपूर्तिमा समस्या भएको छ । रुपन्देहीका विभिन्न ठाउँका भित्री सडकका टोलहरुमा स्थानीहरुले बाहिरी मानिसको प्रवेशलाई रोक्न भन्दै बाँसका घारा तेर्साएर बार बनाएका छन् ।
जसका कारण दूध, तरकारी र फोहाेर संकलन गर्ने सवारी साधन पनि प्रवेश गर्न सकेका छैनन् । अत्यावश्यक मानिसरुलाई पनि टोलबाट बाहिर निस्कन नमिल्ने गरी बार लगाइएको छ ।
बुटवल उपमहानगरपालिका ११ का वार्ड अध्यक्ष रामचन्द्र खनालले सडकमा घारा तेर्साएर सडक अवरुद्ध गर्दा एम्बुलेन्स, खाद्यान्न ढुवानी र अत्यावश्यक परेको वेला सर्वसाधारलाई समेत बाधा उत्पन्न भएको बताउँछन् । उनले स्थानीयलाई सडकमा गरिएको अवरोधलाई हटाउन आग्रह गर्दै बन्दाबन्दीलाई पालना गर्न आग्रह गरेका छन् ।