रिपोर्ट सोमबार, चैत १७, २०७६

बन्दाबन्दीको मारमा किसान: पोल्ट्री र दुग्ध व्यवसाय थलिंदै

रमेश कुमार

बन्दाबन्दीको मारमा किसान: पोल्ट्री र दुग्ध व्यवसाय थलिंदै
फाइल तस्वीर

कोरोनाभाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीका कारण अहिले आपूर्ति शृंखला छिन्नभिन्न बनेको छ। देशको पोल्ट्री र दुग्ध व्यवसायले कठिन स्थिति भोगिरहेका छन्। गोठको दूध तथा खोरका कुखुरा पछिल्लो ६ दिनदेखि बिक्री हुन नपाएपछि हजारौं किसानलाई वित्तीय रुपमा गहिरो धक्का पुगेको छ। असंगठित किसानले उत्पादन गरेको तरकारी र फलफूल समेत बजार पुग्ने चक्रमा व्यवधान उत्पादन भएको छ। बन्दाबन्दी एक साता थपिएकाले किसान र सम्बद्ध व्यवसायी सम्भावित आर्थिक नोक्सानीको त्रासमा छन्।

नेपाली बजारमा दैनिक करीब ८ लाख किलो कुखुराको मासु बिक्री हुने गरेकोमा अहिले त्यो नगन्यमा झरेको व्यवसायीहरुले बताएका छन्। बजारमा माग नभएको र आपूर्तिको चक्र बिथोलिएका कारण खोरमै कुखुरा थन्किएका छन्। अहिले करीब २ करोड २६ लाख ब्रोइलर, प्यारेन्ट तथा अन्य गरी करीब ४ करोड कुखुरा भएको अनुमान छ। व्यवसायी डा. तिलचन्द्र भट्टराई बिक्री नभएपछि कुखुरा र अण्डामा मात्रै दैनिक रु.१७ करोड ३४ लाख नोक्सान भइरहेको बताउँछन्।

कुखुराको मासु र अण्डा उत्पादन पछिल्लो डेढ दशकमा फस्टाएको नेपालको सफलमध्ये एक व्यवसाय मानिन्थ्यो। नेपालमा वार्षिक करीब १२ करोड ७७ लाख कुखुरा उत्पादन हुन्छ। यो क्षेत्रमा रु.१ खर्ब २० अर्ब लगानी र वार्षिक रु.९० अर्बभन्दा बढीको कारोबार हुने बताइन्छ। व्यवसायी डा.भट्टराई कुखुराको उत्पादन र बिक्रीको चक्र नै भताभुङ्ग भएकाले यससँग सम्बन्धित व्यवसाय लामो समय थला पर्ने अनुमान गर्छन्। उनी भन्छन्, “तयार भएका कुखुरा बिक्री नभएको मात्र होइन, नयाँ चल्ला उत्पादन र दाना उत्पादनको शृंखला नै भत्किएकाले पोल्ट्री व्यवसाय तहसनहसको स्थितिमा पुगेको छ।”

पोल्ट्री धराशायी

काठमाडौंको तारकेश्वर नगरपालिका काभ्रेस्थलीका कुखुरा पालक किसान शिव अधिकारी कोरोना भाइरसको भन्दा व्यवसाय उठ्नै नसक्ने गरी तहसनहस हुने हो भन्ने त्रासले पिरोलेको बताउँछन्। अधिकारीले आफ्नै तथा सहकार्यमा विभिन्न स्थानका खोरमा करीब ६२ हजार कुखुरा पालिरहेका छन्। उनका अनुसार, दैनिक कम्तीमा १ हजार ५०० कुखुरा बिक्री गर्नुपर्नेमा बिक्री ठप्पप्रायः छ। करीब ३५/४० दिनमा तयार हुने ब्रोइलर कुखुरा त्यसपछि पाल्नुपर्दा धेरै दाना ख्वाउनुपर्ने भार थपिन्छ। तर, निश्चित उमेरपछि कुखुराको तौल बढ्दैन, त्यसमाथि मृत्युदर बढ्ने जोखिम हुन्छ।

अण्डा, चल्ला र दाना उत्पादन, कुखुरा पालन तथा बजारको चक्र अहिले नराम्ररी प्रभावित भएको छ। दाना आपूर्ति नभएको र बजारमा बिक्री नहुने जोखिम बढेपछि कतिपय स्थानमा किसान आफैंले हुर्कंदै गरेका कुखुरा मार्न थालेको अधिकारी बताउँछन्। १ हजार कुखुरा तयार बनाउन करीब रु.२ लाख ५० हजारको दाना खर्च हुन्छ। दानाको रकम जोगाउन किसान आफैंले नहुर्किइसकेका कुखुरा मार्न थालेको उनको तर्क छ।

अहिले दैनिक ५७ लाख ९३ हजार अण्डा उत्पादन हुन्छ। यी अण्डा पनि बजार हुँदै उपभोक्ताको भान्छामा पुग्न सकेको छैन। अण्डा आपूर्ति रोकिंदा दैनिक रु.६ करोड ८ लाख बराबरको नोक्सान भइरहेको व्यवसायी बताउँछन्। केही दिन अण्डा थन्क्याउन सकिए पनि १० दिनजतिमा बिक्री नभए यो बिग्रिएर खेर जान्छ।

तयार अण्डा र कुखुरा नबिकेका मात्र होइनन्, ब्रोइलर कुखुराका चल्लाको उत्पादन नै रोकिएको छ। औसतमा प्रतिदिन ब्रोइलरका ३ लाख ३७ हजार र लेयर्सका २९ हजारजति चल्ला उत्पादन हुन्छ। ब्रोइलरका चल्लाको बनावट नै यस्तो हुन्छ कि, ७२ घण्टासम्ममा किसानको खोरसम्म पुगेन भने यसलाई गाड्नुको विकल्प नभएको व्यवसायी डा.भट्टराई तर्क गर्छन्।

अर्कातिर, कुखुराको खुराक दानाको आपूर्तिको चक्र बिग्रिएको छ। कुखुराका लागि दैनिक २ हजार ९८७ मेट्रिक टन दाना आवश्यक पर्छ। तर, दाना उत्पादन र आपूर्तिको चक्र बिथोलिएपछि त्यसको करीब एक तिहाईजति मात्रै आपूर्ति भइरहेको डा.भट्टराई बताउँछन्। कुखुरा पालक किसानको खोरसम्म न्यून दाना आपूर्ति हुनुको अर्थ ती कुखुराबाट मासु र अण्डा उत्पादन औसतभन्दा कम हुनु हो। अहिले किसानहरुले आवश्यकता भन्दा करीब एक चौथाइ मात्रै दाना ख्वाइरहेको उनी बताउँछन्। “आवश्यक मात्रामा नियमित दाना ख्वाउन थालिसक्दा समेत अण्डा उत्पादन औसत बनाउन थप एक/डेढ महीना लाग्छ” भट्टराई भन्छन्।

दाना उत्पादनको कच्चा पदार्थ मकै, भटमासको पिना आदिमा नेपाल लगभग आयातमै निर्भर छ। कोरोनाभाइरसको संक्रमण फैलन नदिन नेपाल र भारत दुबैतिर बन्दाबन्दी गरिएसँगै कच्चा पदार्थ आउन रोकिएको छ। जति बन्दाबन्दी लम्बिँदै जान्छ, दानाको कच्चा पदार्थ ल्याउन नसकेर यो थप अभाव चर्किंदै जान्छ। नेपाल दाना उत्पादक संघका अध्यक्ष रविन पुरीका अनुसार, नेपालका १ सय ११ दाना उद्योगसँग करीब १० दिनजतिलाई पुग्ने कच्चा पदार्थ मात्र बाँकी छ। “भारतबाट आएको कच्चा पदार्थ सिमानामै रोकिएको छ, लोड–अनलोड गर्ने भरियादेखि गाडीका चालक र सहायक समेत काम छोडेर बसेकाले तत्काल आयात गर्नै मुश्किल परिरहेको छ” उनी भन्छन् ।

अहिले दैनिक २ हजार ९८७ मेट्रिक टन दाना आवश्यक पर्छ। अहिले यसको एक तिहाइ मात्र आपूर्ति भएको छ। चल्ला उत्पादनदेखि दाना र कखुराको बिक्रीसम्म अहिले भत्किएको चक्रले आउने कैयौं महीनाहरुसम्म अप्ठ्यारो पार्छ। “कोरोनाको प्रभाव मत्थर भएर बजार नियमित हुन थाले पनि अहिले बिथोलिएको चक्रले कैयौं महीनासम्म कुखुराको चल्लादेखि मासु र अण्डासम्म अभाव भएर मूल्य बढ्छ”, भट्टराई भन्छन्।

दैनिक ६ लाख लिटर दूध खेर

चितवनको भण्डारा दुग्ध उत्पादन सहकारीले दैनिक न्यूनतम १२ हजार लिटर दूध संकलन गरेर बजारमा पठाउँथ्यो। बन्दाबन्दी घोषणा भएको पहिलो दिन नै यसले संकलित दूध बजारमा पठाउन नसकेपछि खोलामा बगायो। त्यसयता दूध संकलन नै गरेको छैन।

सहकारीका अध्यक्ष डिल्ली थपलिया भन्छन्, “खपत नभएपछि किसानले दैनिक ४/५ सय लिटर दूध दुहुँदै बस्तुभाउको मलमा फाल्दै आएका छन्।” सहकारीमा करीब १ हजार ४ सय दुग्ध उत्पादक किसान आबद्ध छन्। बन्दाबन्दीका कारण बजारमा ढुटो, चोकर, दाना समेत नपाएको कारण किसान दोहोरो मर्कामा परेको सहकारीका अध्यक्ष थपलिया बताउँछन्।

नेपालमा दूध उत्पादनका १ हजार ८ सय ७२ सहकारीमा ४ लाख किसान आबद्ध छन्। सामान्य अवस्थामा ठूला दुग्ध उद्योगहरुको दैनिक ५ लाख लिटरसहित कुल ८ लाख लिटर बजारमा खपत हुन्थ्यो। अहिले करीब २ लाख लिटरजति मात्रै खपत भइरहेको छ। बाँकी ६ लाख लिटर दूध खेर गएको केन्द्रीय दुग्ध उत्पादक सहकारीका अध्यक्ष नारायणप्रसाद देवकोटाको दाबी छ। जसका कारण, गाईभैसीं पालेर दूध बजारमा बिक्री गर्दै आएका किसान मारमा परेका छन्। “किसानको दैनिक रु.३ करोडजति आय गुमिरहेको छ, उपभोक्ताले खान नपाउने र किसानले फाल्नुपर्ने स्थिति छ”, देवकोटा भन्छन्।

तरकारी र फलफूलको आपूर्ति चक्रमा पनि बन्दाबन्दीको असर पर्न शुरु गरेको छ। बजारमा माग घटेको र ढुवानीको समस्याका कारण किसानको तरकारीले बजार नपाएको केन्द्रीय तरकारी तथा फलफूल उत्पादक संघका अध्यक्ष विनोद पराजुली बताउँछन्। तरकारी उत्पादक किसान, बजार र उपभोक्ताबीचको अन्तर्सम्बन्ध टुट्दा किसानको तरकारी खेर जाने र बजारमा अभाव हुने स्थिति सिर्जना भएको छ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक करिब १ हजार ३ सय टन तरकारी र ४ सय टन फलफूल खपत हुने गरेकोमा अहिले खपतमा करिब दुई तिहाईसम्मले कमी आएको बताइन्छ। धादिङ, चितवन, नवलपरासी आदि स्थानका किसानको तरकारी खेतमै सुक्न थालेको बताइन्छ। धादिङको चरौदीस्थित कृषक सुधार तथा तरकारी र फलफूल सहकारी संस्थाका अध्यक्ष हेमनाथ थपलिया अबको एक सातापछि वास्तविक समस्या शुरु हुने बताउँछन्। “किसानको खेतबारीमा काँक्रा, करेला, घिरौंला, भ्यान्टा, घिउसिमी टिप्न हुने बेला शुरु भएको छ, एक सातामा पनि बजार सञ्चालनमा नआए ठूलो परिमाणमा तरकारी खेर जान्छ,” उनी भन्छन् ।

बन्दाबन्दीसँगै कृषि उपजको आपूर्तिमा आएको व्यवधान हटाउन कृषि तथा पशुपक्षी विकास र गृह मन्त्रालयले आफू मातहतका निकायलाई सर्कुलर जारी गरेका छन्। दूध, तरकारी, फलफूल, खाद्यान्न, मासु तथा दानाको ओसापसारमा अवरोध नगर्न १३ चैतमा सर्कुलरी जारी गरिए पनि बजारमा यस्ता वस्तुको आपूर्तिको चक्रमा अझै व्यवधान छ।

कोरोनाभाइरसको संक्रमणका कारण निर्माण, पर्यटन, व्यापार तथा वैदेशिक रोजगारी सबैभन्दा बढी असर पुगेको क्षेत्र मानिन्छ। अधिकांश निर्वाहमुखी प्रणाली भएका कारण बन्दाबन्दीबाट कृषि कम प्रभावित क्षेत्र मानिन्छ। तर, व्यावसायिक रुपमा गरिएका कुखुरा पालन, तरकारी र फलफूल खेती तथा पोल्ट्री सम्बद्ध व्यवसायमा भने ठूलो क्षति पुगेको व्यवसायीहरु बताउँछन्। पोल्ट्री व्यवसायी डा. भट्टराई भन्छन्, “पोल्ट्री व्यवसाय त धराशायी बन्दैछ, हजारौं साना किसानदेखि व्यवसायीसम्म उठ्नै नसक्ने गरी थला पर्दैछन्।”

प्रतिकृया दिनुहोस