समाचार शनिबार, चैत १५, २०७६

बन्दाबन्दीको मौका छोपेर तराईका जिल्लामा काठ तस्करी

मुकेश पोखरेल

बन्दाबन्दीको मौका छोपेर तराईका जिल्लामा काठ तस्करी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर तराईका जिल्लामा काठ तस्करी बढेको छ।

बारा, पर्सा, सर्लाही, कैलाली, कञ्चनपुरका सम्बद्ध जिल्ला वन कार्यालय र निकुञ्ज कार्यालयले १०–१४ चैतसम्म वन्यजन्तु र काठ तस्करीका ६ घटनामा संलग्न २४ जनालाई पक्राउ गरेका छन्। उनीहरुबाट तस्करीमा प्रयोग गरिएका सामानहरु बरामद गरिएको छ।

१४ चैतमा पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तस्करीका लागि गएका व्यक्तिहरूको समूह र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाबीच गोली हानाहान भयो। उक्त घटनामा हेटौंडा उप–महानगरपालिका–१३ पदमपोखरीका भीमलाल मोक्तानको मृत्यु भयो।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार, १० चैतमा जिल्लाको अमर स्मृति सामुदायिक वनबाट बँदेल मार्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३२ वर्षीय बनबारी राना रहेका छन्।

त्यस्तै, कञ्चनपुरकै लालझण्डी गाउँपालिकाको वन क्षेत्रमा काठ लैजाँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको सहायक वन अधिकृत दिनेश यादवले हिमालखबरलाई बताए। उनका अनुसार, पक्राउ पर्नेमा पुनर्बास नगरपालिका निवासी सुरेन्द्र तामाङ र विजय तामाङ छन् । उनीहरुको साथबाट से ६ प ६३५८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ ।

१३ चैतमा कैलालीको धनगढी उप–महानगरपालिकाको फूलबारीबाट दुई वटा सालको गोलिया सहित नौ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा कैलालीकै रामबहादुर चौधरी सहित नौ जना छन्। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलका अनुसार उनीहरूको साथबाट काठ बोक्न प्रयोग गरिएको गाडा समेत बरामद भएको छ।

त्यसैगरी, डिभिजन वन कार्यालय सर्लाहीले १० चैतमा काठ बोक्न प्रयोग गरिएका दुई वटा ट्याक्टर सहित ११ जनालाई पक्राउ गरेको छ। डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव देवका अनुसार, जिल्लाको लालबन्दी नगरपालिका–१४ को वन क्षेत्रबाट चिरान गरिएको ५१३ थान काठ सहित उनीहरुलाई पक्राउ गरिएको हो। स १ प २५५४ नम्बर र नम्बर नखुलेको अर्को ट्याक्टरमा २९३ क्यूफिट ल्याइँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो।

डिभिजन वन कार्यालय बाराले पनि १२ चैतमा सिसौका तीन गोलियासहित एक जनालाई पक्राउ गरेको छ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेल काठ तस्करले बन्दको मौका छोपेर तस्करीको प्रयास गरेको बताउँछन्। “बन्दको समयमा चोरीका घटना हुने भएकाले सचेत त छौं, तर सबै ठाउँमा पुग्न सकेका छैनौं” उनी भन्छन्, “स्थानीय तहमा रहेका पोष्टहरुलाई सचेत रहन भनेका छौं ।”

प्रतिकृया दिनुहोस