ब्यांक तथा वित्तीय संस्थाका आंशिक शाखा खुल्ने, पूर्ण रुपमा ठप्प नहुने
देशव्यापी बन्दाबन्दी (लक डाउन) मा पनि ब्यांक तथा वित्तीय संस्थाका आंशिक शाखा खुल्ने भएका छन् । नगद व्यवस्थापनका लागि काठमाडौं उपत्यका र देशका अन्य स्थानका सीमित शाखा खोलेर नगद व्यवस्थापनलाई सहयोग गर्न लागिएको नेपाल ब्यांकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले बताए ।
“सबै शाखा खोल्न नसकेपनि केही स्थानका शाखा खोल्ने निर्णय गरेका छौं,” उनले भने । उनका अनुसार, एकै क्षेत्रका विभिन्न शाखामध्ये निश्चित शाखा तोकेर एउटा बाट सेवा सञ्चालन गरिनेछ ।
अन्य बेलाजस्तो सम्पूर्ण ब्यांकिङ कारोबार गर्न नसकेपनि सीमित रुपमा खुलेका शाखाका काउन्टरमार्फत चेकको भुक्तानी, रकम जम्मा गर्ने जस्ता नगदको कारोबार हुने दाहालले बताए ।
मंगलबार घोडेजात्राको सार्वजनिक विदा भएकाले काठमाडौं उपत्यकामा ब्यांकका शाखा खुलेका छैनन् । सरकारले १० चैतमा एक साताका लागि बन्दाबन्दीको घोषणा गरेसँगै ब्यांक तथा वित्तीय संस्थाका शाखा के हुने भन्ने अन्यौल बढेको थियो ।
तर, बुधबारदेखि अत्यावश्यक नगद व्यवस्थापनका लागि ब्यांकका तोकिएका शाखा सञ्चालन गरिन लागेको हो । यसका लागि जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा ब्यांकका सवारी साधन सञ्चालनको अनुमतिपत्र लिइएको अध्यक्ष दाहालले बताए । कुन शाखा कतिबेर खुल्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।