रिपोर्ट मंगलबार, चैत ११, २०७६

कोरोना जोखिमले निकुञ्जहरू बन्दः वन्यजन्तुलाई राहत

मुकेश पोखरेल

कोरोना जोखिमले निकुञ्जहरू बन्दः वन्यजन्तुलाई राहत
चित्लाङ, मकवानपुर । तस्वीर: कुन्द दीक्षित

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले मानव समुदायलाई चुनौती दिइरहेका वेला वन्यजन्तुका लागि भने राहत बनेको छ । कोरोनाको जोखिमका कारण विभिन्न राष्ट्रिय निकुञ्जमा सर्वसाधारणको प्रवेश बन्द गरिएपछि वन्यजन्तुको प्राकृतिक विचरण र बासस्थान सुरक्षित भएको यस क्षेत्रका विज्ञहरु बताउँछन्।

बर्दिया र चितवन चितवन राष्ट्रिय निकुञ्ज आइतबारदेखि बन्द गरिएको थियो भने सोमबारदेखि शिवपुरी राष्ट्रिय निकुञ्जमा पनि सर्वसाधारणको प्रवेश रोकिएको छ । सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाए पनि निकुञ्ज अवलोकन गर्न आउनेहरूको भीड बढेपछि सतर्कता स्वरुप निकुञ्ज बन्द गरिएको हो।

बन्दाबन्दीकाे पहिलाे दिन ११ चैतकाे बिहान ६ बजे काठमाडाैकाे खाली सडक । तस्वीर बिक्रम राई ।

कोरोनाको संभावित संक्रमण रोक्न सरकारले शिक्षण संस्था बन्द गर्दा निकुञ्ज घुम्न आउनेहरूको चाप बढेपछि प्रवेशमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अननाथ बरालले बताए । “मानिसहरु बस रिजर्भ गरेर आउन थालेपछि संक्रमणको जोखिमका कारण निकुञ्ज बन्द गरिएको हो,” उनले भने।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, पछिल्लो एक सातामा निकुञ्जमा दैनिक तीन सयदेखि चार सय मानिस गएका थिए । यस्तै, शिवपुरी राष्ट्रिय निकुञ्जमा शनिबार र आइतबार झ्ण्डै ४०० मानिस पुगेका थिए । भीड बढ्दा कर्मचारीलाई टिकट बाँड्न समेत हम्मे परेको थियो । निकुञ्जका अनुसार १–९ चैतसम्म ८४३ जना स्वदेशी र ४७ जना विदेशी पुगेका थिए।

लाङटाङ राष्ट्रिय निकुञ्ज ।

प्राकृतिक घुमफिरमा वन्यजन्तु 

निकुञ्जमा मानिसहरुको प्रवेश अस्थायी रुपमा भए पनि रोक लाग्दा वन्यजन्तुलाई राहत हुने यस क्षेत्रका विज्ञहरु बताउँछन् । वन्यजन्तुविज्ञ डा.मुकेश चालिसे मानिसको आवागमनले वन्यजन्तुको प्राकृतिक घुमफिर, बासस्थानमा बाधा पर्ने बताउँछन् । लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गतको लाङटाङ गाउँ २०७२ सालको भूकम्पका कारण विस्थापित भएपछि उक्त ठाउँमा चराचुरुङ्गी र वन्यजन्तुको संख्या बढेको चालिसे बताउँछन् । “त्यहाँ पहिले चराचुरुङ्गी र वन्यजन्तु देख्नै पाइँदैनथ्यो, अहिले हुलका हुल देख्न सकिन्छ,” उनी भन्छन्।

शिवपुरी राष्ट्रिय निकुञ्ज । तस्वीर: छाेङ झी लियाङ

पछिल्ला वर्षहरुमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वर्षेनी बढिरहेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, आर्थिक २०६९/७० मा ५ लाख १० हजार २०५ जना विदेशीले निकुञ्ज भ्रमण गरेकोमा आव २०७४/७५ मा ६ लाख ९९ हजार ५२२ पुगेको थियो । नेपालीहरुको संख्या विदेशीको भन्दा अझ बढी हुन्छ, जसको तथ्यांक विभागले राख्ने गरेको छैन।

निकुञ्जमा दैनिक रुपमा प्रवेश गर्ने सवारी साधन तथा मानिसको कोलाहलले वन्यजन्तुलाई असर परेको आवाज संरक्षणकर्मीहरुले उठाउँदै आएका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार चितवनको सौराहा क्षेत्रबाट दैनिक ३२ वटा जीपले निकुञ्जको ‘कोर’ क्षेत्रमा सफारीको अनुमति लिएका छन् । ती जीपमा एक पटकमा १० देखि १४ जनाका दरले सफारी गर्छन् । यसबाहेक हात्ती सफारी पनि नियमित हुन्थ्यो। यस्तै, बर्दियामा २२ वटा जीपले सफारीका लागि अनुमति पाएका छन् । दैनिक अवलोकन गर्ने समय र अवलोकनकर्ताको संख्या नतोक्दा वन्यजन्तुको प्राकृतिक घुमफिर खलबलिएको थियो।

मानिसको चहलपहल र कोलाहल बढ्दा वन्यजन्तुको बासस्थान, चरिचरन र प्राकृतिक गतिविधिमा असर गर्ने, उनीहरू रिसाहा हुने र बस्तीमा पसेर मानिसलाई आक्रमण गर्ने जस्ता समस्या समेत निम्तिने चालिसे बताउँछन्।

उनका भनाइमा चितवनको सौराहा र बाघमारा क्षेत्रका गैंडाहरु अहिले मानिससँग झ्याम्मिसकेका छन् । मानिस देख्दा न भाग्छन्, न त आक्रमण गर्छन् । यस्तो प्रवृत्ति प्राकृतिक रुपमा खतरा भएको उनी बताउँछन् । “भोलि जंगलमा गैंडामाथि शिकारीले सजिलै आक्रमण गर्न सक्छ, यो प्राकृतिक रुपमा ठीक होइन”, उनी भन्छन् ।

तस्वीर: एलेक्स डुड्ले

निकुञ्जलाई जैविक विविधताको प्रमुख स्रोत मान्ने हो भने निकुञ्जका सबै ठाउँमा मानिसको प्रवेशलाई रोक लगाउनुपर्ने चालिसेको तर्क छ । उनका भनाइमा निकुञ्जको कोर, बाहिरी र बफर जोन क्षेत्रलाई फरक फरक ढंगले विकास गर्नुपर्छ । कोर एरिया अध्ययन-अनुसन्धानका लागि मात्र खुला गर्नुपर्नेमा राजश्व प्राप्त हुने लोभमा टिकट काटेर मानिसहरुको प्रवेश खुला गरिंदा वन्यजन्तुको बासस्थानमा नकारात्मक असर परेको उनी बताउँछन्।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगाना भने संरक्षण मात्र गर्ने नभई त्यसबाट लाभ पनि लिनुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “हाम्रा गातिविधिले वन्यजन्तुको प्राकृतिक बासस्थानमा प्रभाव परेको छ कि छैन भन्ने प्रमुख कुरा हो । प्रभाव परेको छ भने त्यसमा पुनर्विचार गर्नुपर्छ।”

मानिस र जनावरबीच दूरी कायम नहुँदा एक–अर्कोमा रहेको रोग सर्ने जोखिम पनि हुन्छ । वन्यजन्तुविज्ञ डा. चालिसेका अनुसार, प्राकृतिक रुपमा गैंडा र हात्तीमा क्षयरोग हुँदैनथ्यो, मानिसबाटै सरेको हो । अन्य कतिपय रोगहरु वन्यजन्तुबाट मानिसमा सरेको विभिन्न अध्ययनले देखाएका छन्।

चोरी शिकारको समय !
अहिले राज्यका सम्पूर्ण संयन्त्र कोरोना भाइरसको रोकथाम र पूर्वतयारीमा लागेका छन् । मुलुकमा आपत्–विपद् परेको वेलाको फाइदा उठाउँदै काठ तथा वन्यजन्तुको तस्करी बढी हुने गरेको छ।

वन्यजन्तु विज्ञ डा. चालिसे चोरी तस्करी गर्नेले जहिले पनि संक्रमणको फाइदा उठाउने भएकाले विषेश ध्यान दिनुपर्ने बताउँछन् । २०४६ र २०६२/६३ को जनआन्दोलन तथा निर्वाचनका वेला जंगलको फँडानी भएका थिए।

प्रतिकृया दिनुहोस