२५ जना भन्दा बढी भेला हुन नपाइने, सिनेमा हल, जिम र डान्स बार बन्द गर्ने सरकारको निर्णय
देशमा काेराेना भाइरसकाे जाेखिम निम्तिन सक्ने भन्दै नेपाल सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायत बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबारदेखि ३० अप्रिलसम्मलाई बन्द गर्ने निर्णय गरेको हो।
‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’, सरकारकाे निर्णयमा उल्लेख छ।
यसैगरी सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएका देशबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएकाे छ। कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यूरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो।
सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो । धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन निषेध गर्ने निर्णय पनि गरेको छ।
सरकारले स्कूल, कलेज लगायत शैक्षिक संस्था चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) बाहेक स्कूल तथा कलेजहरु बन्द गर्ने निर्णय गरेको हो।