शेयर बजारमा आइतबार पनि पहिरो
शेयर बजार परिसूचक नेप्से आइतबार ६४.१४ अंकले ओरालो झरेको छ । ४.६६ प्रतिशतले बजार खस्किएपछि नेप्से १ हजार ३१३ विन्दुमा आइपुगेको छ ।
कोरोना प्रभावले अर्थतन्त्र नै शिथिल भएका बेला लगानीकर्ताको मनोबल पनि खस्किएपछि बजार नकारात्मक बनेको हो ।
बजार खुल्नेबित्तिकै ओरालो लागेको नेप्से लगातार ओरालो झरेको थियो । आइतबारदेखि नेप्सेमा नियमितभन्दा एक घण्टा थप ५ घण्टा कारोबार शुरु भएको थियो ।
आइतबारको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा र निर्जीवन बीमा समूह क्रमशः ७.८७ र ६.९४ प्रतिशतले ओरालो झरेका छन् । ब्यांकिङ समूह ४.७ प्रतिशतले ओरालो झरेको छ । सबै समूह ओरालो लागेका थिए ।
आइतबार १७४ कम्पनीका रु. २ अर्ब १० करोड बराबरका ५५ लाख ७० हजार कित्ता शेयर किनबेच भएका छन् । सबैभन्दा धेरै सामुदायिक लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले १०/१० प्रतिशत गुमाए ।
अन्य सबै कम्पनीका लगानीकर्ताले गुमाएपनि तीन वटा कम्पनीका लगानीकर्ताले झिनो रकम भने कमाए । युनाइटेड मोदी हाइड्रोपावर, सिन्धु विकास ब्यांक र वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले १ प्रतिशतभन्दा थोरै मात्र नाफा गरे ।