हिमालय एअरलाइन्सले थप्यो नयाँ विमान
नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ ।
उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो ।
क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएराति अवतरण गराउनुभएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । सो कम्पनीसंग तीन एअरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा जहाज भएका छन् । एयरबस ए३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै जहाज हो ।
एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ । कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ ।
यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलि जस्ता गन्तव्यस्थलहरुमा उडान गरी धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।