लिभरपुलको कीर्तिमानी जितमा मानेको निर्णायक गोल
इंग्लिस प्रिमियर लिगमा अपराजित लिभरपुलले कीर्तिमानी जित निकालेको छ । सोमबार राति सकिएको खेलमा वेस्टहामलाई तीन–दुई गोल अन्तरले पराजित गर्दै कीर्तिमानी जित निकालेको छ ।
लगातार १८ खेलमा जित निकाल्दै लिभरपुलले म्यानचेस्टर सिटीले गत सिजनमा बनाएको कीर्तिमानी बराबरी गरेको हो । म्यानचेस्टर युनाइटेडसँग बराबर खेले यता लिभरपुलले लगातार जित निकालिरहेको छ ।
वेस्टहामसँग जित निकाल्न माडियो मानेले निर्णायक गोल गरेका थिए । नवौं मिनेटमै गर्जिनियोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, तीन मिनेट नबित्दै वेस्टहामका इस्सा डिओपले गोल फर्काउँदै बराबरी गरे ।
यसपछि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । दोस्रो हाफमा भने वेस्टहामले अग्रता लियो । ५४औं मिनेटमा पाब्लो फर्नल्सले गोल गरे । फेरि ६८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दुई–दुई गोलको बराबरीमा प्रतिश्पर्धात्मक चलिरहेको खेलमा ८१औं मिनेटमा मानेले गोल गरेसँगै लिभरपुलले अग्रता लियो । वेस्टहामले गोल फर्काउन नसक्दा लिभरपुलले कीर्तिमानी जित निकाल्यो ।
यो सिजनमा लिभरपुलले अपराजित रहँदै थुप्रै कीर्तिमानी बनाइसकेको छ । २७ खेलबाट ७९ अंक जोडेको लिभरपुलले अग्रता थप फराकिलो मात्रै बनाइरहेको छैन, च्याम्पिन्स लिगमा पुग्ने पहिलो टीम समेत बनिसकेको छ ।
दोस्रो स्थानमा रहेर लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटी २७ खेलबाट ५७ अंक जोडेको छ ।