टेम्केमैयुङमा मुन्दुम पर्यटकीय सांस्कृतिक महोत्सव हुने
भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्न टेम्केमैयुङ पर्यटकीय साँस्कृतिक महोत्सव २०७६ आयोजना हुने भएको छ ।
सय नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुरको टेम्के पदमार्ग (मुन्दुम पदमार्ग) लाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा दुई दिने महोत्सवको हुन लागेको हो ।
यही १३ र १४ फागुनमा टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्ण क्याम्प डाँडामा आयोजना हुने महोत्सवमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा हुनेछ । यो सांस्कृतिक महोत्सवले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।
मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्दै स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पुर्याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराजले जानकारी दिए । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको उनले बताए ।
महोत्सवमा बरिष्ठ संगितकार गणेश रसिकको एकल साँझ, साँगीतिक तथा स्थानीय साँस्कृतिक कलाकृतिको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यीक भलाकुसारी तथा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम रहने महोत्सवको आयोजक टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।
यस्तै महोत्सवमा जिल्लाभित्रका साहित्यिक, सांगातिक, चलचित्र, खेलकुद क्षेत्रका विभिन्न श्रष्टाहरुलाई सम्मान गरिने कार्यक्रम पनि रहेको आयोजक गाउँपालिकाले जनाएको छ । महोत्सवका लागि गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको छ ।