खेलकुद आइतबार, माघ २६, २०७६

खै घरेलु क्रिकेट ?

प्रकाश गुरागाईं

खै घरेलु क्रिकेट ?
क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २२ माघमा ओमान विरुद्ध भएको खेलमा ब्याटिङ गर्दै आरिफ शेख । तस्वीरहरु: क्यान

चार वर्षदेखि एक–दिवसीय राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका खेलाडी टी–२० फ्रेन्चाइजबाट छानिएर एकैपटक ओडीआई खेलिरहेका छन्।

झण्डै दुई वर्षअघि १ चैत २०७४ मा नेपालले एक–दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) राष्ट्रको मान्यता पाएको थियो । त्यसयता नेपाली टोलीले २२ माघदेखि कीर्तिपुरमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता अघि जम्मा ६ वटा ओडीआई खेल खेल्यो । जसमध्ये, तीनमा जित र तीनमा हारको नतिजा निकाल्यो । गत मंसीरमा बाङ्लादेशमा भएको यू–२३ एशिया कपमा तीन वटा ‘लिष्ट ए’ खेल्दा एउटामा मात्र जित हासिल गर्‍यो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को तालिका अनुसार, आगामी अढाइ वर्षमा लिग–२ मा मात्र नेपालले ३६ वटा ओडीआई खेल्दैछ, जसको नतिजाकै आधारमा नेपालको ओडीआई मान्यता निरन्तरताको निक्र्योल हुनेछ । तर, नेपाली घरेलु क्रिकेट भने अझै पनि गहिरो निद्राबाट ब्युँझन नसके झैं देखिन्छ । खेलाडीका लागि लगातारको अभ्यास, ‘फिटनेश’, नयाँ प्रतिभाको खोजी लगभग शून्य बराबर छ ।

यसको पछिल्लो प्रमाण हो, जारी लिग–२ प्रतियोगितामा नेपाली टोलीको छनोट । मुलुकमा कुनै पनि एक–दिवसीय राष्ट्रिय प्रतियोगिता नहुँदा गत मंसीर र पुसमा भएको टी–२० स्वरुपको पोखरा प्रिमियर लिग (पीपीएल) कै आधारमा ओडीआईका लागि खेलाडी छानिएको थियो ।

स्थिति कतिसम्म दयनीय छ भने, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि ५० ओभरको राष्ट्रिय प्रतियोगिता नगरेको चार वर्ष भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भने तीन वर्षदेखि हरेक वर्ष प्रधानमन्त्री कप एक–दिवसीय क्रिकेट प्रतियोगिता गरिरहेको छ ।

गत पुसमा मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मनमोहन मेमोरियल (एमएम) कप एक–दिवसीय क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको थियो । तर, यो प्रतियोगितामा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का, भेट्रान खेलाडी वसन्त रेग्मी, शरद भेषवाकर लगायतले खेलेनन् ।

पीपीएलकै प्रदर्शनका आधारमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका कुशल मल्लले यसैबीच एमएम कपमा नेपाल आर्मीबाट खेल्दै एपीएफ विरुद्ध शतक बनाए । चार इनिङमा १९६ रन बनाउँदै ‘टप स्कोरर’ भएपछि उनका लागि राष्ट्रिय टोलीको ढोका खुल्यो ।

सोही प्रतियोगितामा चार इनिङमा १५ विकेट लिएका सुसन भारीले राष्ट्रिय टोलीमा पुनरागमन मात्र गरेनन्, २२ माघको ओमान विरुद्ध ओडीआईमा ‘डेब्यू’ गर्दै तीन विकेट समेत लिए । तर, एकाध खेलाडीकै प्रदर्शनका आधारमा टिमले राम्रो परिणाम ल्याउन नसक्ने ओमानसँगको पछिल्लो खेलबाटै प्रमाणित भयो । परिपक्व र धैर्यपूर्वक ब्याटिङ गर्न नसक्दा नेपालले १९८ रनको सामान्य लक्ष्य समेत भेट्टाउन सकेन ।

राष्ट्रिय टिमका पूर्वसदस्य शक्ति गौचन टी–२० प्रतियोगिताबाट ५० ओभरका लागि खेलाडी छान्नु नै गलत भएको बताउँछन् । “यस्तो छनोटले खेलाडीको वास्तविक क्षमता र खेल्ने शैली नै थाहा हुँदैन, सोझो असर प्रतियोगितामा पर्छ”, उनी भन्छन् । उनी यसका लागि प्रदेशस्तरीय र राष्ट्रिय गरी वर्षमा कम्तीमा १० वटा ५० ओभरको प्रतियोगिता गराउनुपर्ने बताउँछन् ।

क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २२ माघमा ओमान विरुद्ध भएको खेलमा बलिङ गर्दै करण केसी ।

कागजमा सीमित संरचना

गएको ११ असोजमा निर्वाचित क्यानको नयाँ कार्यसमितिलाई आईसीसीले ब्याङ्क खाता सञ्चालनका लागि घरेलु क्रिकेट संरचनाको खाका र वार्षिक क्यालेण्डर पठाउन निर्देशन दिएको थियो ।

यसका लागि ३ कात्तिकको क्यानको पहिलो बैठकले प्रशान्तविक्रम मल्लको संयोजकत्वमा प्रतियोगिता समिति पनि बनाएको थियो । समितिका संयोजक मल्ल आफूले वार्षिक क्यालेण्डर क्यानमा बुझाइसकेको तर, आईसीसीलाई पठाउन भने बाँकी रहेको बताउँछन् ।

मल्लको क्यालेण्डरमा क्यानले तत्काल जिल्ला, प्रदेश र राष्ट्रियस्तरको एक–दिवसीय प्रतियोगिता गर्ने उल्लेख छ । तर, राष्ट्रिय प्रतियोगिता भने राखेपले गरिरहेको प्रधानमन्त्री कपलाई उपयोग गर्ने योजना छ । “एकै स्वरुपको दुई प्रतियोगिता आवश्यक छैन । त्यसैले प्रधानमन्त्री कपलाई नै राष्ट्रिय प्रतियोगिता मानेर थप व्यवस्थित र व्यापक बनाउने योजना छ”, मल्ल भन्छन् ।

प्रधानमन्त्री कप ‘राउन्ड रोबिन’का आधारमा खेलाउनेबारे छलफल भइरहेको उनी बताउँछन् । त्यसरी खेलाउँदा जम्मा ४५ खेल हुने र प्रतियोगिताका लागि कीर्तिपुर, मूलपानी, पोखरा वा भैरहवाको मैदान उपयोग गर्न सकिने मल्लको भनाइ छ । यसबाहेक क्यानले पुरुषको १६ वर्ष र १९ वर्षमुनि तथा महिलाको १९ वर्षमुनि र सिनियर एक–दिवसीय प्रतियोगिता पनि आयोजना गर्नेछ ।

क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी गरिरहेको छ । छुट्टै टी–२० राष्ट्रिय प्रतियोगिता पनि गर्ने क्यानको योजना छ । तर, टी–२० जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता गर्ने योजना छैन । “टी–२० ले खेलाडीको धैर्य बिगारिदिएको छ । यसले खेलाडीको क्षमता विकास हुँदैन । त्यसैले पनि हामीले कम महत्व दिएका हौं”, क्यानका कार्यसमिति सदस्य समेत रहेका मल्ल भन्छन् ।

आईसीसीबाट १३ वैशाख २०७३ मा क्यान निलम्बन हुनुअघि भने महिला र पुरुषको ‘राष्ट्रिय लिग क्रिकेट’ प्रतियोगिता हुन्थ्यो । १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता पनि गरिन्थ्यो । तर, यी प्रतियोगिता दुई सातामै सकिएपछि खेलाडी वर्षभरि फुर्सदमा हुन्थे ।

त्यसकारण पनि घरेलु क्रिकेट संरचना कहिल्यै बलियो भएन । नयाँ बन्दै गरेको संरचनामा पनि एक–दिवसीयलाई मात्र महत्व दिइएकाले तत्काल बहु–दिवसीय प्रतियोगिता नहुने भएको छ ।

कहिले खेल्ने तीन–दिवसीय ?

गएको कात्तिकमा मेरिलेबोन क्रिकेट क्लब विरुद्ध भएको प्रथम श्रेणीको क्रिकेटमा नेपाल २०८ रनको विशाल अन्तरले पराजित भयो । नेपालले १५ वर्षपछि खेलेको यो श्रेणीको प्रतियोगिता कप्तान ज्ञानेन्द्र मल्लसहित नौ खेलाडीका लागि नितान्त नौलो थियो ।

नेपालले आईसीसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत सन् २००४ मा खेलेको पहिलो तीन–दिवसीय प्रतियोगितामा मलेशियालाई पराजित गरेको थियो भने युएईसँग बराबरी खेलेको थियो । त्यस्तै सन् २००५ को इन्टरकन्टिनेन्टल कपमा युएईलाई पराजित गर्दै हङकङसँग बराबरी गरेको थियो ।

ती प्रतियोगिताको अनुभव भएका पारस खड्का र शरद भेषवाकर मात्र अहिले नेपाली टोलीमा छन् । दुई खेलाडीबाहेक सोमपाल कामीसँग श्रीलड्ढामा प्रथम श्रेणीको क्रिकेट खेलेको पृष्ठभूमि छ । उनले डिसेम्बर २०१५ र जनवरी २०१६ मा श्रीलड्ढाको सारासेन्स स्पोर्टस् क्लबबाट दुई वटा प्रथम श्रेणीको क्रिकेट खेलेका थिए ।

कुनै समय नेपालका चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तान र आयरल्याण्डले सन् २०१७ मा टेस्ट राष्ट्रको मान्यता पाउनुअघि चार–दिवसीय घरेलु क्रिकेट शुरु गरेका थिए । आईसीसीले ती चार–दिवसीय घरेलु संरचनालाई प्रथम श्रेणीको मान्यता दिएको थियो । तर, टेष्ट राष्ट्रको मान्यताको लक्ष्य राखेर अघि बढ्नुपर्ने क्यान अझै तीन–दिवसीय क्रिकेट गराउने योजनामा समेत छैन ।

क्यान अध्यक्षमा चुनिएलगत्तै हिमाल सँगको अन्तर्वार्तामा चतुरबहादुर चन्दले तीन–दिवसीय प्रतियोगिताको तयारीका लागि दुई–दिवसीय प्रतियोगिता थाल्ने बताएका थिए । तर, उनले भने जस्तो दुई–दिवसीय क्रिकेट प्रतियोगिता पनि निश्चित भएको छैन ।

प्रतियोगिता समिति संयोजक मल्ल अर्को वर्षदेखि दुई–दिवसीय प्रतियोगिता शुरु गर्ने बताउँछन् । “टी–२० ले गर्दा खेलाडीले ५० ओभर नै खेल्न सकिरहेका छैनन् । माथिल्लो स्तरमा पुग्न अरु केही वर्ष लाग्छ”, उनी भन्छन् ।

जति लामो स्वरुपको प्रतियोगिता भयो, उति नै ब्याट्सम्यानको ‘इनिङ बिल्डअप’ र बलरको एक रुपको प्रदर्शन गर्ने क्षमता बढाउने राष्ट्रिय टिमका पूर्व खेलाडी गौचन बताउँछन् । १६ वर्षभन्दा कम उमेरदेखि नै दुई र तीन–दिवसीय प्रतियोगिता खेलाउनुपर्ने बताउँदै उनी भन्छन्, “नहुनुभन्दा ५० ओभरकै प्रतियोगिता भए पनि हुन्छ । तर, खेलाडीलाई क्षमतावान् बनाउन लामो स्वरुपमा जानै पर्छ ।”

गौचनले आफ्नै पहलमा बुवाको स्मृतिमा १४–२३ माघमा रुपन्देहीका पाँच टिम सहभागी गराएर १६ वर्षमुनिको ‘खडगप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिता’ गराए । प्रतियोगिताको फाइनल भने दुई–दिवसीय भयो । “दुई–दिवसीय प्रतियोगिता त निजी क्षेत्रबाटै पनि हुनसक्छ । क्यानले अझ अघि बढेर तीन–दिवसीय प्रतियोगिता शुरु गर्नुपर्छ”, उनी भन्छन् ।



प्रतिकृया दिनुहोस