थप समाचार शनिबार, माघ २५, २०७६

'फेल्ट'का सजावट

शुष्मा बराली

'फेल्ट'का सजावट
पाटनढोकास्थित दिया हस्तकलामा बिक्रीका लागि राखिएका फेल्टका सामग्री । तस्वीर: विक्रम राई

पाटनकी सोनी मालाकार फेल्ट (जनावरका रौं र फाइबरको मिश्रण) बाट बनेको ह्यान्ड ब्याग प्रयोग गर्छिन् । उनले फेल्टबाटै बनेको घरबस्दा लगाउँने जुत्ता लगाएकी छिन् । यी सामग्री बोक्न हलुका र लगाउन न्यानो तथा आरामदायी हुने उनी बताउँछिन् ।

उनी साथीहरूलाई पनि फेल्टबाट बनेका किरिङ, हेयर ब्यान्ड, मोबाइल ह्याङ्गिङ जस्ता सामग्री उपहार दिन्छिन् । मालाकार भन्छिन्, “फेल्टबाट बनेका सजावटका सामग्री निकै राम्रा र प्रयोग गर्न सजिलो छन् ।”

पछिल्लो समय फेल्टबाट बनेका सामग्री बजारमा प्रशस्तै छन् । फेल्टबाट बनेका सजावटका सामग्री र पोशाकको प्रयोग बढ्दै गएको छ । ललितपुरको कुपन्डोलस्थित हस्तकला पसल ‘ढुकुटी’ र पाटनढोकास्थित दिया हस्तकलामा फेल्टबाट बनेका डोर म्याट, टेबल म्याट, फूल, डल लगायत सामग्री छन् ।

कोट, जुत्ता, ब्याग, टोपी, किरिङ, मोबाइल ह्याङ्गिङ लगायत सामग्री पनि राखिएका छन् । स्वदेशी भन्दा विदेशीले फेल्टका सामग्री बढी मन पराउने उक्त पसलकी कर्मचारी रमिता डंगोल बताउँछिन् ।

यी सामग्री जाडोयाममा बढी बिक्री हुने उनी बताउँछिन् । “फेल्टका सामग्री न्यानो हुने हुँदा जाडोमा कोट, जुत्ता, मफलर जस्ता सामग्रीको माग बढी हुन्छ”, डंगोल भन्छिन् । सजावटका सामग्री भने क्रिसमस, नयाँ वर्ष, दशैं लगायत चाडपर्वमा बढी बिक्री हुन्छ ।

बिहे, व्रतबन्ध जस्ता उत्सवमा पनि कोठा सजाउन फेल्टका सामग्री प्रयोग गरिन्छ । यी सामग्री धुन नमिल्ने हुँदा जतनसाथ प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

पछिल्लो समय सस्ता भारतीय र चिनियाँ सामग्रीको प्रयोग बढ्दा फेल्टबाट बन्ने स्वदेशी उत्पादनले बजार पाउन नसकेको बालाजुस्थित बीएनएनकी सञ्चालिका गोमा लामा बताउँछिन् । उनले फेल्ट तथा हस्तकलाको उद्योग आफैंले दर्ता गरी उत्पादन थालेको पाँच वर्ष भए पनि २०६० सालदेखि नै यस्ता सामग्री उत्पादनमा संलग्न छिन् ।

फेल्टबाट सामग्री बनाउने तालिम समेत दिने उनी ग्राहकलाई यसबारे जानकारी नभएकै कारण पर्याप्त माग नभएको बताउँछिन् । उनी भन्छिन्, “अरु वेला छुट्टै अर्डर कम मात्र आउँछ तर, प्रदर्शनी आयोजना हुँदा देखेर माग गर्नेको संख्या धेरै हुन्छ ।”

फेल्टका सामग्रीको प्रयोग व्यापक हुन थालेको १८औं शताब्दीबाट हो । रूसीहरूले परम्परागत रुपमा फेल्टबाट बनेका ‘रसियन भालेन्की’ भनिने जुत्ता प्रयोग गर्थे । १९औं शताब्दीमा पश्चिमा देशहरूमा फेल्टबाट बनेको ‘टप ह्याट’ निकै रुचाइन्थ्यो । टप ह्याटले फेसनको रुप लिएपछि फेल्टबाट अन्य सामग्री पनि बन्न थालेका हुन् ।

 

प्रतिकृया दिनुहोस