खेलकुद मंगलबार, माघ २१, २०७६

नेपाललाई नेपालीमूलकै सुरजकुमार चुनौती

सइन्द्र राई

नेपाललाई नेपालीमूलकै सुरजकुमार चुनौती
तस्वीरः नेप्लेज डटकम

एक दिवसीय क्रिकेटको मान्यता पाए पछि नेपाली क्रिकेट टीमले दुई वटा एक दिवसीय सिरिज खेलेको छ । यी दुवै सिरिजमा पराजित नभएको नेपालले बुधबारबाट भने आईसीसी वल्र्डकप डिभिजन लिग टुको खेल शुरु गर्नेछ ।

घरेलु मैदान कीर्तिपुरमा ओमान विरुद्ध खेल्दै नेपालले एक दिवसीय यात्रा अगाडि बढाउनुपर्नेछ । अमेरिका, ओमान र नेपाल सम्मिलित सिरिजमा नेपालको भने विश्वकप छनोटका लागि पहिलो खेल हो । अमेरिका र ओमानले भने आठ–आठ खेल खेलिसकेको छ ।

दश वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दै पारस खड्काले राजीनामा दिए पछि कप्तान बनेका ज्ञानेन्द्र मल्लका लागि यो सिरिज निकै महत्वपूर्ण हुनेछ । बुधबार बिहान १० बजे शुरु हुने खेलमा नेपालले ओमानलाई हराउन सजिलो भने हुनेछैन ।

गएको १० अक्टोबरमा ओमानसँग उसकै घरेलु मैदानमा फराकिलो अन्तरले पराजित भएको थियो । पाँच देश सम्मिलित टी–ट्वान्टी सिरिजमा ओमानसँग नेपाल ४९ बल रहँदै ६ विकेटले पराजित भएको थियो ।

ओमानको टीममा सन् २०१८ देखि खेल्न थालेका अलराउण्डर ३१ वर्षीय सुरजकुमारको पुर्खौली घर, बाग्लुङको बुर्तिबाङ हो । उनी वैदेशिक रोजगारीका लागि सन् २०१५ मा ओमान पुगेका थिए ।

त्यसबेला नेपालका लागि नेपाली मुलकै खेलाडी बाधक बनेका थिए । ६५ रनको सामान्य चुनौती पछ्याएको ओमानका लागि सुरजकुमार नेपालीले अविजित रहँदै ३० बलमा ४५ रन जोड्दै बिस्फोटक ब्याटिङ गरेपछि नेपाल पराजित हुन पुगेको थियो । उक्त खेलबाट सुरजकुमार नेपाली मूलकै भएको धेरैले थाहा पाए ।

बुधबार ओमान विरुद्ध हुने खेलमा पनि तिनै सुरजकुमार नेपाली चुनौतीका रुपमा देखिएका छन् । उत्कृष्ट फर्ममा देखिएका सुरजकुमारले जारी एक दिवसीय लिगको पाँच खेल मात्रै ब्याटिङ गर्दै एक अर्धशतक सहित ११८ रन जोडिसकेका छन् ।

ओमानको टीममा सन् २०१८ देखि खेल्न थालेका अलराउण्डर ३१ वर्षीय सुरजकुमारको पुर्खौली घर, बाग्लुङको बुर्तिबाङ हो । उनी वैदेशिक रोजगारीका लागि सन् २०१५ मा ओमान पुगेका थिए । साेमपाल कामीसँगै भारतका विभिन्न ठाउँबाट खेलेकाे सुरजकुमार भारतबाटै ओमान गएका हुन्।

कुनै पनि देशमा तीन वर्ष बसेपछि उक्त देशबाट खेल्न पाउने आईसीसीको प्रावधानअनुसार, सुरज ओमानको राष्ट्रिय टीमबाट खेल्छन् । विकेट किपर समेत रहेका सुरजकुमार गएको ८ जनवरीमा नामिबिया विरुद्ध ५८ रन जोडेका थिए ।

त्यसै पनि जारी लिगमा ओमानका ब्याटिङ लाइन राम्रैसँग चलिरहेको छ । सुरजकुमार सहित पाँच जनाले अर्धशतक जोडिसकेका छन् । लिग टु को बढी रन बनाउने खेलाडी सूचीमा ओमानका आकिब सलेह्री, खवार अली, जतिन्दर सिंह, सन्दीप गउड र सुरजकुमार छन् । यी पाँचै जनाले अर्धशतकीय पारी खेलेका छन् ।

सन् २०१८ मा एसिया कप छनोट खेलमा नेपाल विरुद्ध खेल्दै ओमानको राष्ट्रिय टीममा डेब्यू गरेका सुरजकुमारका लागि भने आफ्नै पुर्खौली देश विरुद्ध हुने तेस्रो खेल हो ।

सलेह्रीले ६ ओडीआईमा चार अर्धशतक गर्दै ३०८ रन जोडिसकेका छन् भने खवार अलीले ६ इनिङमा एक अर्धशतक सहित १५५ रन जोडेका छन् । जतिन्दर सिंहले एक अर्धशतक सहित १४२ र सन्दीप गउडले एक अर्धशतक १३३ रन जोडेका छन् ।

विकेट किपिङ, ब्याटिङ, बलिङ र फिल्डिङ गर्न सक्ने सुरजकुमारको प्रदर्शन ओमानका लागि महत्वपूर्ण हुनेछ । सँगै, वैदेशिक रोजगारका लागि ओमान पुगेर त्यही देशबाट खेलिरहेका सुरजकुमार नेपालका लागि भने चुनौती हुनेछन् ।

सन् २०१८ मा एसिया कप छनोट खेलमा नेपाल विरुद्ध खेल्दै ओमानको राष्ट्रिय टीममा डेब्यू गरेका सुरजकुमारका लागि भने आफ्नै पुर्खौली देश विरुद्ध हुने तेस्रो खेल हो । उनले ओमानबाट सात एक दिवसीय, १३ टी–ट्वान्टी र १५ लिष्ट ए खेलिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस