युरोपियन युनियनमा जोडिएको ४७ वर्षपछि आजबाट बाहिरिदै बेलायत
बेलायत युरोपियन युनियनमा जोडिएको ४७ वर्षपछि आजबाट औपचारिक हिसाबले अलग हुँदै 'ब्रेक्जिट' प्रक्रियालाई समापन गर्दैछ ।
युनियनमा आवद्ध भएको ४७ वर्षपछि बेलायत उक्त संस्थाबाट अलग हुँदै गर्दा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसलाई 'नयाँ युगको सुरुवात' भएको बताएका छन् । उनले भनेका छन्, "ब्रेक्जिट बेलायतको अन्त्य होइन नयाँ सुरुवात हो । अब बेलायत थप परिवर्तन उन्मुख भएको छ ।"
बेलायतले जनमतसंग्रह गरेरै युनियनबाट अलग्गिने निर्णय गरेको ४ वर्षपछि निर्णयलाई सदनबाट सदर गराउन सफल भएको हो । 'ब्रेक्जिट'का विषयमा २०१६ मा नै मतदान भएको थियो ।
तत्कालीन बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जिटको टुंगो लगाउन संसदमा पटकपटक प्रस्ताव प्रस्तुत गरे पनि अनुमोदन हुन नसक्दा पदबाट राजीनामा दिनुपरेको थियो।
त्यसपछि आएका बोरिस जोनसनले आफ्नो प्रस्ताव पारित नभएर बिना कुनै 'ब्रेक्जिट डिल' नै बेलायत युरोपियन युनियनबाट बाहिरिने चेतावनी दिँदै आम निर्वाचन घोषणा समेत गरेका थिए ।