संसदमा देउवाको सम्बोधन : 'धक्का आउने कहाँबाट हो, हामी पनि हेरौँ !'
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । देउवाले सम्बोधनमा संसद प्रतिपक्षीको भएको तर्फ ध्यानाकर्षण गर्दै नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले नेपालका पहिलो सभामुख दमननाथ ढुंगानाले आफू सरकारमा रहँदा संसद विपक्षीकै हुन्छ भनेर सम्झाएको स्मरण गर्दै सभामुखले तटस्थ भएर सदन चलाउने कुराको विश्वास व्यक्त गरे ।
देउवाले प्रतिकुल विधेयकप्रति आफ्नो पहिल्यैदेखि असहमति रहेको बताए । उनले प्रेस स्वतन्त्रता लगायत मानवअधिकार सम्बन्धी विधेयकमा सरकार कडा भएर प्रजातन्त्रको रक्षा नहुने बताए । "जहाँ प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ मानअधिकार, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुँदैन, चल्न सक्दैन ।
टेलिफोन ट्यापिङ्ग लगायतका व्यक्तिगत स्वतन्त्रलाई हनन् गर्ने विधेयक पास हुन दिनुहुँदैन", देउवाले सम्बोधनमा भने । प्रधानमन्त्रीले सम्बोधनमा लोकतन्त्रको कुरा गरेकाले आफूलाई खुशी लागेको भन्दै उनले त्यसका लागि लोकतन्त्रलाई प्रतिकुल हुने विधेयक हटाउन आग्रह गरे ।
उनले कोरोनाभाइरसका विषयमा सजगता अपनाउनु पर्ने विषय औंल्याए । यस सँगै देउवाले प्रधानमन्त्रीले धक्का महसुस गरिरहेको भन्ने विषय आफूले नयाँ सुनेको बताए । "के हो यो धक्का भनेको ? मैले नयाँ सुने । ठूलो धक्का आउनेवाला छ र नेपालमा ! कसले दिनेवाला छ हामीले पनि थाहा पाउनुपर्यो", उनले अगाडि भने "हामी सहयोग गर्न तयार छौं । हामी पनि हेरौँ ।"