रौतहट–सर्लाही जोड्ने पुल बनाउन माग गर्दै चक्काजाम
रौतहट र सर्लाहीलाई जोड्ने पुल निर्माणमा ढिलासुस्ती र अनियमितता भएको भन्दै स्थानीयले प्रदर्शन र चक्काजाम गरेका छन् ।
रौतहटको गढीमाई नगरपालिकाको समनपुरमा स्थानीयबासीले बागमती नदीमा पुलको निर्माणमा अनियमितता भएको भन्दै चक्काजाम गरेका हुन् ।
एलाइट निर्माण कम्पनीले गत २०७५ जेठसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने पुलको थप म्यादभित्र पनि निर्माणको कुनै सम्भावना नरहेको भन्दै स्थानीयबासीले पुलको निर्माण समयमा नै हुनुपर्ने भनी माग गरेका छन् ।
बागमती नदीमा निर्माण भइरहेको पुलमा ढिलासुस्ती गरेको, कमसल सामग्री प्रयोग गरेको र नगरपालिकाको स्थानीय सरकारसित मिलेर नदीको ढुंगा, गिटी र बालुवाको व्यापार गरेको भन्दै स्थानीयबासीले शुक्रबार बिहानैदेखि प्रदर्शन गर्दै समनपुर बजारमा चक्काजाम गरेको स्थानीय जवार मियाले बताएका छन् ।
पुल निर्माण भएपछि ऐतिहासिक समनपुरको कायापलट हुने विश्वास गरिएको थियो । विगत ५ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलको निर्माणको गति अत्यन्त सुस्त रहेकाले गुणस्तरीय र समयमै निर्माणका लागि सरकारसित माग गर्दै नदी दोहनको माध्यम पुल निर्माणलाई बनाउने नगर पदाधिकारीविरुद्ध पनि छानबिन हुनुपर्ने माग गरेका छन् ।
सञ्जय मित्र, रौतहट