'लोकतन्त्रको मन्दिरमा पुजारी नै हत्या आरोपित?'
अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउने प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । रीट दायर गरेका अधिवक्ता दिनेश त्रिपाठीले पीडितहरुको न्याय पाउने हक सुनिश्चित गराउन सापकोटालाई सभामुख पदबाट रोक्नुपर्ने बताए ।
हिमालखबर सँग त्रिपाठीले प्रश्न गरे, “प्रतिनिधिसभा लोकतन्त्रको मन्दिर हो, तर मन्दिरको पुजारी नै हत्या आरोपित हुने ?” संसदको गरिमा राख्न, संविधानको रक्षा गर्न, लोकतन्त्र जोगाउन र शान्ति प्रक्रिया टुंग्याउनका लागि सापकोटालाई सभामुख निर्वाचित हुनुबाट रोक्नुपर्ने उनले बताए ।
संसदमा सभामुखको दावेदारी प्रस्तुत गरिरहेका सापकोटालाई प्रहरीले समेत फरारको सूचीमा राखेकोमा उनले आश्चार्य प्रकट गरे । संक्रमणकालीन न्यायको प्रक्रियामा अति विलम्ब भएकाले पीडितहरुलाई थप पीडा थपिदै गएको त्रिपाठी बताउँछन् ।
संक्रमणकालीन न्याय टुंग्याउने तदारुकता देखाउनुपर्ने राजनीतिक दलहरुले हत्या आरोपित व्यक्तिलाई सभामुखको उम्मेद्वार बनाउन नहुने उनको भनाइ छ । “आरोपित व्यक्ति नै सभामुख भए पछि अनुसन्धान प्रक्रिया अवरुद्ध हुन्छ, यसले पीडितको न्याय पाउने हक सुनिश्चित हुँदैन”, उनले भने ।