माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट
–यज्ञराज थापा, दैलेख
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा शुक्रबार राति बम विष्फोट भएको छ ।
अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा राति करीब १० बजे अज्ञात समूहले बम विष्फोट गराएको स्थानीयले बताएका छन् ।
बम विष्फोटपछि सो समूहले नाराबाजी गरेको हुँदा बम विष्फोट गराउने नेकपा माओवादी विप्लव नेतृत्वको समूह हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोटबारे स्वीकार गर्दै केही समयभित्र विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिएका छन् ।
राति आयोजना प्रभावित क्षेत्रमा बम विष्फोटसँगै नाराबाजी भएपछि त्यस क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पबाट घटनास्थलमा रातिदेखि नै सशस्त्र प्रहरीहरू परिचालित भएको स्थानीय जनक शाहीले टेलिफोनबाट जानकारी दिए ।
बम विष्फोटबारे आधिकारिक जानकारी प्राप्त नभएको र अछाम क्षेत्रमा भएको बारे बुझिरहेको दैलेख प्रहरी प्र्रमुख डीएसपी हरिबहादुर वलीले बताए ।
कर्णाली प्रदेशको बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने सुनिश्चित भएपछि स्थानीयबासी खुशी भइरहेको वेला भएको बम विष्फोटले जनजीवन असामान्य बनेको छ ।
बंगलादेश सरकारले उत्पादित ५०० मेगावाट बिजुली २५ वर्षसम्म किन्ने प्रस्ताव अनुमोदन गरेसँगै आयोजनाको २०२० देखि काम अघि बढ्ने हुँदा स्थानीयबासी हर्षित भएका थिए ।
उत्पादित बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७ सेन्ट अर्थात झन्डै ८ रुपैयाँ ८० पैसामा किन्ने सहमति जनाएपछि आयोजना निर्माणको जिम्मा पाएको भारतीय जीएमआर कम्पनीलाई निर्माणका लागि बाटो खुलेको थियो ।
जीएमआरले सन् २०१४ मै माथिल्लो कर्णाली बनाउन लगानी बोर्डसँग परियोजना विकास सहमति (पीडीए) गरेको थियो । त्यो बेला दुई वर्पभित्र ‘फाइनान्सियल क्लोजर’ गर्ने शर्त भए पनि जीएमआरले आर्थिक स्रोत जुटाउन सकेको थिएन ।
निर्माण कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली आयोजनाबाट ९०० मेगावाट बिजुली र २५ वर्षसम्म सञ्चालन गर्न स्वीकृति दिए वापत नेपालले उक्त कम्पनीमा बिना लगानी २७ प्रतिशत स्वामित्व र १२ प्रतिशत बिजुली पाउने सम्झौता भएको छ ।