सन्दीपको तीन विकेटमा मेलबर्न जितसहित शीर्ष स्थानमा कायमै
सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिदा उनको टीम मेलबर्न स्टार आठ विकेटले विजयी भएको छ ।
मेलबर्न रेनेगेड्स विरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको मेलबर्नका लागि सन्दीपले महत्वपूर्ण तीन विकेट लिएका थिए । नाथान कोउल्टर र एडम जाम्पाले दुई विकेट लिए पछि १४ ओभरमा दुई विकेट गुमाउँदै रेनेगेड्स ११७ रन सहित उत्कृष्ट लयमा थियो ।
तर, सन्दीपले सर्वाधिक ४५ रन बनाएका साउन मार्सलाई उत्कृष्ट क्याच आउट गराए । त्यही ओभरमा सन्दीपले डेनिएल क्रिस्टियनलाई आउट गरे । यसपछि रेनेगेड्स धर्मराउन पुग्यो ।
फेरि १६औं ओभरमा आएका सन्दीपले टम कपुरलाई एलबीडब्लु गरे । यसपछि लगातार विकेट गुमाउँदै नौ विकेटको क्षतिमा रेनेगेड्स १४२ रनमा समेटियो ।
जवाफी ब्याटिङका क्रममा सन्दीपको टीम मेलबर्न स्टारका लागि ओपनर मक्र्युस स्टोनिसले अविजित ६८ बल बनाए भने कप्तान ग्लिन म्याक्सवेल बिफोटक ४० रनमा अविजित रहे । निक म्याडिसन १७ र बेन डकले १५ रन जोड्दा सात बल बाँकी रहँदै स्टार आठ विकेटले विजयी भयो ।
मेलबेर्नले ६ खेलमा पाँच जित निकाल्दै १० अंक सहित शीर्ष स्थानमा छ । घाइते भएकाले एक खेल गुमाएका सन्दीपले पाँच खेलबाट ६ विकेट लिएका छन् ।