कांग्रेसले देशभर ४४औँ मेलमिलाप दिवस मनाउँदै
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष जस्तै यस पटक पनि ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदैछ ।
७७ वटै जिल्लामा आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्का लगायत मेलमिलापको नीति लिएर २०३३ मा स्वदेश फर्किएका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।