सरकार छाड्ने समाजवादी पार्टीको निर्णय
समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको छ । वर्तमान सरकारमा पार्टी अध्यक्ष उपेन्द्र यादव कानून मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्रीको जिम्मेवारीमा छन् भने मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री छन् ।
अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समाजवादी पार्टी जेठ २०७५ मा सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुने बेलामा नेकपा र फोरमबीचमा दुई बुँदे सहमति भएको थियो। पहिलो बुँदामा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने र दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख थियो ।
यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग छलफल नै नगरी मन्त्रालय हेरफेर गरेर कानुन मन्त्रालयको जिम्मा दिएका थिए । समाजवादी पार्टीले पाएको स्वास्थ्य राज्यमन्त्रीको पद पनि खोसिएको थियो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राख्ने प्रयास गरेका थिए । तर, प्रधानमन्त्री ओलीले रोकेपछि उनी बैठकबाट बाहिरिएका थिए ।
पछिल्लो समय नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सम्बन्ध सुधार भएपछि उपेन्द्र यादव छायामा पर्न थालेका थिए । नेकपा र राजपाले प्रदेश नं. २ मा राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गर्ने सहमति गरिसकेका छन् ।