साग क्रिकेटः नेपाल ४१ रनले पराजित, श्रीलंका र बांग्लादेश फाइनलमा
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपाल बांग्लादेशसँग ४१ रनले पराजित भएको छ ।
बांग्लादेशले दिएको १५६ रनको चुनौती भेट्न नसकेपछि नेपाल स्वर्ण पदकको संभावनाबाट बाहिरिएको छ । नेपालले ९ विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए पनि अन्य ब्याट्स म्यान टिक्न नसक्दा नेपाल पराजित भयो ।
दीपेन्द्रसिंह ऐरीले १६ र अविनास बोहोराले १३ रन जोडे भने बाँकीले दोहोरो अंक जोड्न सकेनन् । पूर्व कप्तान पारस खड्का ९, रोहितकुमार पौडेल ८, विनोद भण्डारी ३, सुशन भारी २ र करण केसी एक रनमा आउट भए ।
पवन सर्राफ र आरिफ सेखले खाता खोल्न सकेनन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बांग्लादेशले नेपाललाई १५५ रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान पारस खड्का ३, उपकप्तान दीपेन्द्रसिं ऐरी दुई र अविनाश बोहोराले एक विकेट लिएका थिए ।
नेपाल पराजित भए सँगै एक खेल अगाडि नै बांग्लादेश र श्रीलंका स्वर्ण पदकका लागि भिड्ने निश्चित भएको छ । दुवै देशले अपराजित रहँदै तीन खेलबाट समान ६ अंक जोडेको छ ।