बांग्लादेशले नेपाललाई दियो १५६ रनको चुनौती
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा बांग्लादेशले नेपाललाई १५६ रनको चुनौती दिएको छ ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि बांग्लादेशले ब्याटिङ गरेको थियो । बांग्लादेशले ६ विकेटको क्षतिमा १५५ रन बनाएको छ ।
पूर्व कप्तान पारस खड्काको उत्कृष्ट बलिङमा नेपालले राम्रो शुरुवात गरेपनि अन्तिमतिर बांग्लादेशले उत्कृष्ट स्कोर जोड्यो । खड्काले चार ओभरमा १५ रन खर्चदै तीन विकेट लिएका थिए ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा दुई विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए । अन्य बलरले भने विकेट लिन सकेनन् ।
बांग्लादेश विरुद्धको यो खेल नेपालले जित्नैपर्ने दबाव छ । स्वर्ण पदकको संभावना कायमै राख्न फराकिलो अन्तरले बांग्लादेशलाई नेपालले पराजित गर्नुपर्नेछ ।
तीन खेल खेलेको नेपालसँग बांग्लादेशले एक खेल कम खेल्दै चार अंक बटुलेको छ । अझ रनरेट पनि बांग्लादेशकै राम्रो छ ।
यदि, नेपालले बांग्लादेशलाई फराकिलो अन्तरले पराजित गर्न सके र बांग्लोदश आइतबारको खेलमा श्रीलंकासँग पराजित भए नेपालले स्वर्ण पदकका लागि खेल्ने अवसर पाउनेछ ।
तीन खेलबाट अपराजित ६ अंक जोडेको श्रीलंका अंक तालिकाको शीर्ष स्थानमा छ । तर, नेपालले माल्दिभ्स र भुटानलाई पराजित गरे पनि भने श्रीलंकासँग पराजित हुँदा चार अंक सहित तेस्रो स्थानमा छ ।