१३औं सागको दोस्रो दिनः नेपालले जित्यो १५ स्वर्णसहित २४ पदक
१३औं दक्षिण एसियाली खेलकद (साग)को दोस्रो दिन नेपालले उत्साहजनक पदक जितेको छ ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले १५ स्वर्ण सहित २४ पदक जितेको छ । नेपालले ३ रजत र ६ काँस्य पदक जितेको छ ।
दोस्रोमा रहेको भारतले ३ स्वर्ण, ८ रजत र ३ काँस्य पदक जितेको छ । तेस्रो नम्बरमा रहेको श्रीलंकाले ३ स्वर्ण, ६ रजत र १४ काँस्य पदक सहित नेपालसँग समान २४ पदक नै जितेको छ ।
पाकिस्तानले २ स्वर्ण, ४ रजत र ७ काँस्य गरी १३ पदक जितेको छ भने बांग्लादेशले २ स्वर्ण र १६ काँस्य गरी १८ पदक जितेको छ । भुटानले एक काँस्य पदक जितेको छ भने माल्दिभ्सले खाता खोल्न सकेको छैन ।
कराँते र तेक्वान्दोमा सात–सात स्वर्ण
नेपालका लागि कराँते र तेक्वान्दोमा समान सात–सात स्वर्ण मिलेको छ । नेपालका लागि पहिलो स्वर्ण करातेका मण्डेकाजी श्रेष्ठले दिलाए । श्रेष्ठ दोहोरो स्वर्ण जित्ने खेलाडी समेत बने ।
मण्डेकाजीले एकल सँगै प्रवीण मानन्धर र महसुस तामाङसँग टिम कातामा समेत स्वर्ण जित्न सफल भए । महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिते भने चञ्चला दनुवारले महिला एकल कातातर्फ स्वर्ण जितिन् ।
तेक्वान्दोकी आयशा शाक्यले पनि दुई स्वर्ण जितिन् । उनले पुम्सेको एकल र टिममा स्वर्ण जितेकी हुन् । दुई सन्तानका आमा आयशाले सञ्जीवकुमार ओझासँग टीममा स्वर्ण जितेकी हुन् ।
११औं सागमा स्वर्ण जितेकी आयशा १२औंमा भने भारतीय खेलाडीसँग पराजित भएकी थिइन् ।
पुम्सेमा १७ देखि २३ वर्ष उमेर समूहमा सीना मादेन, २३ देखि २९ वर्ष उमेर समूहमा पार्वती गुरुङ र २३ देखि २९ वर्ष उमेर समूहको पुरुषतर्फ कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।
पुम्सेको टिम तर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिनाले तथा २३ देखि २९ वर्ष उमेर समूहकाे टिम तर्फ नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टीमले स्वर्ण जिते ।
कुमुते तर्फ नेपालले चार स्वर्ण जितेको छ । पुरुष तर्फ ५५ केजी मुनि लक्ष्मण तामाङ, ८४ केजी माथि विप्लवमान श्रेष्ठ, महिला तर्फ ४५ केजी मुनि कुशुम खड्का र महिलातर्फ ४५ कुजी मुनि अनु अधिकारीले स्वर्ण जितिन् ।