स्थानीय तह उपनिर्वाचनमा नेकपा नाफामै
भक्तपुर–१, (क) प्रदेशसभा सदस्य पद गुमाएको सत्तारुढ नेकपा स्थानीय तहको उपनिर्वाचन परिणाम भने नाफामै देखिएको छ ।
आइबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक भएको ४७ मध्ये नेकपाले २९ पदमा जित निकालेको छ । २०७४ को निर्वाचनमा नेकपाले उपनिर्वाचनको नतिजा परिणाम सार्वजनिक क्षेत्रबाट २४ पद जितेको थियो ।
यस पटक नेकपाले कांग्रेसको सात वडा खोसेको छ । निर्वाचन आयोगलाई प्राप्त परिणामअनुसार, नेकपाले एक प्रतिनिधिसभा, दुई गाउँपालिका र २३ वडा जितेको छ ।
कांग्रेसले आइतबार साँझसम्म एक प्रदेशसभा र ११ वडा जितेको छ । संघीय संसदको तेस्रो दल समाजवादी पार्टी, नेपाल उपनिर्वाचनमा पनि तेस्रो स्थानमै छ । समाजवादी पार्टीले ४ वडा जितेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले भने एक वडाध्यक्षमा मात्रै जितेको छ । राजपाले २०७४ को स्थानीय निर्वाचनमा जितेको गाउँपालिका यसपटक गुमाएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका नेकपाले खोसेको छ । पिपरामा राजपा निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेन । राजपाको उम्मेद्वारले तेस्रो मत प्राप्त गर्दा समाजवादी पार्टी, नेपाल निकटतम प्रतिद्वन्द्वी बने ।
साना दलहरु भने उपनिर्वाचनमा झनै खस्किएको छ । कुनै पनि दलले निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेन । कास्की–२ लाई विशेष चासो दिएको राप्रपा, विवकेशील, साझा पार्टी लगायतले अत्यन्तै न्यून मत प्राप्त गरे ।