१३ दिनमा ४२ अंक घट्यो नेप्से, आजैमात्र साढे ८ अंकको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ माघयता कारोबार सञ्चालन भएको १३ दिनमा ४२ अंक घटेको छ ।
१ माघमा ११९५ अंक पुगेको नेप्से त्यसपछि लगातार ओरालो लाग्दा २० माघमा ११५३.०६ अंकमा झरेको छ ।
साताको पहिलो दिन आइतबारमात्रै ८.५७ अंक घटेपछि नेप्सेले ११५० को मनोवैज्ञानिक स्तरमा टेवा परिक्षण गर्ने भएको हो ।
लगातार घटेको बजारमा कुनै ऐतिहासिक वा मनोवैज्ञानिक बिन्दुसम्म झरेपछि त्यसलाई आधारअर्थात् टेवा लिएर बढ्न थाल्ने गर्छ । यसले ११५० अंकको वरपरबाट नेप्से बढ्ने सम्भावना हुन्छ ।
आज नेप्सेमा १६९ कम्पनीको १५ लाख २७ हजार कित्ता सेयर रु. ४१ करोड ५७ लाख ७३ हजारमा किनबेच भयो ।
यस दिन ब्यापार समूहको परिसूचक उकालो लागेपनि बाँकी सबै समूहगत सूचकांक घटेपछि समग्र नेप्सेमा गिरावट देखिएको हो ।
यस दिन विजय लघुवित्त कम्पनीको शेयर सर्वाधिक ३.८३ प्रतिशत महँगियो भने सानिमा इक्विटी फण्ड ३.८ प्रतिशत सस्तियो ।
माछापुच्छ«े ब्यांकको संस्थापक शेयर रु. ५ करोड ९३ लाखको व्यापार भयो भने सर्वसाधारण स्वामित्वको शेयर कारोबारमा नेपाल टेलिकमको सर्वाधिक रु. ३ करोड ५५ लाखको शेयर खरीदबिक्री भयो ।