६ महिनामा अढाइ खर्ब बढ्यो वाणिज्य ब्यांकको कर्जा, निक्षेप डेढ अर्ब मात्र वृद्धि
पछिल्लो ६ महिनामा वाणिज्य ब्यांकहरूको कर्जा रु. २ खर्ब ४४ अर्ब वृद्धि भएको छ। नेपाल ब्यांकर्स संघको तथ्यांकअनुसार गएको ३२ असारको तुलनामा ४ माघसम्ममा झण्डै साढे २ खर्ब कर्जा वृद्धि भएको देखिएको हो। यस अवधिमा निक्षेपको वृद्धि भने रु. १ खर्ब ६७ अर्ब मात्रै छ।
नियमानुसार ब्यांकहरूले रु. १०० निक्षेप लिएर रु. ८० मात्रै कर्जा लगानी गर्न पाउँछन्। तर, अहिले राष्ट्र ब्यांकले यस्तो नियमको गणना गर्ने विधि परिवर्तन गरेर ब्यांकहरूलाई निक्षेपको ८० प्रतिशतभन्दा बढी लगानी गर्न बाटो खोलिदिएको छ। अहिलेको गणना विधिअनुसार ब्यांकहरूको चुक्ता पूँजी र सञ्चित नाफालगायतका प्राथमिक पूँजीलाई समेत निक्षेपसरह मानेर गणना गर्न पाइन्छ।
यस्तै, सहुलियतपूर्ण कर्जामा गरेको लगानीलाई यस्तो गणनामा जोड्नै पर्दैन। अहिले थप सजिलो बनाउनका लागि राष्ट्र ब्यांकले आफूसँग पर्याप्त निक्षेप नभए पनि अर्को ब्यांकसँग सापटी लिएरसमेत ऋण दिनसक्ने सुविधा दिएको छ।
गणना गर्ने सूत्रमा भएको हेरफेरले ब्यांकहरूलाई फाइदा पुगेकाले वाणिज्य ब्यांकहरूको कर्जा-निक्षेप अनुपात अहिले ९० प्रतिशत पुगे पनि ‘कानूनी सीमा’ भित्रै छन्। पुस मसान्तको तथ्यांकलाई आधार मान्दा एक वर्षमा वाणिज्य ब्यांकहरूको निक्षेप २० प्रतिशत र कर्जा २२ प्रतिशत बढेको छ। पुसको मात्रै तथ्यांक हेर्ने हो भनेचाहिँ २८ वाणिज्य ब्यांकहरूले यो एक महिनामा रु. ३० अर्ब निक्षेप संकलन गरेर रु. ३० अर्ब नै कर्जा लगानी गरेका छन्।