मन्त्री अधिकारीको दाबी- निगम धरासायी बनाउने समूह सक्रिय छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले निगम धरासायी बनाउने गिरोह सक्रिय रहेको दाबी गरेका छन्।
वाइडबडी विमान खरीदका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले नयाँ विमान खरीदपछि निगमले गर्न सक्ने बजार विस्तारको सम्भावनाले निगमलाई धरासायी बनाउन विभिन्न समूह सक्रिय भएको आरोप लगाए। विमान खरीद प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही हुनुपर्ने, दोषी उम्किन नपाउने र निर्दोषलाई बद्नाम नगर्ने गरी अनुसन्धान केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले गठन गरेको न्यायिक आयोगले सत्यतथ्य बाहिर ल्याउने बताउँदै विमान खरीदमा आफूले कुनै अनियमितता नगरेको उनले दाबी गरे । अनुमान र पुर्वाग्रहका आधारमा बदनाम गराउनेगरी अनियमितता गरेको भनी प्रचारप्रसार गरिएको उनको भनाइ थियो।
"सर्वोच्च अदालतले गरेको फैसला र विमान खरीद बिक्री सम्झौता कारण अन्तिम किस्ता रोक्न सक्ने अवस्था थिएन," मन्त्री अधिकारीले भने, "विमान खरीदमा भएको अनियमितता छानबिनबाट बाहिर ल्याउन सकिन्छ र ल्याउनैपर्छ।"