रेशम चौधरीको माफी मिनाहा न्यायको हत्या: शारदा बोहरा
‘अदालतले दोषी करार गरेका अपराधीलाई माफी मिनाहाका लागि मन्त्रिपरिषद्बाट भएको सिफारिशले देशमा न्यायको हत्यालाई पुष्टि गरेको छ।’
टीकापुर घटनाकी पीडित शारदा कडायत बोहराले रेशम चौधरीको माफी मिनाहा गरेर सरकारले न्यायको हत्या गरेको बताएकी छिन्। शारदाले एक विज्ञप्ति जारी गर्दै टीकापुर घटनामा तीन तहका अदालतले दोषी ठहर गरेका व्यक्तिलाई माफी मिनाहा गरेर न्यायको हत्या गरिएको उल्लेख गरेकी हुन्।
शारदाका श्रीमान् केशव बोहरा सहित आठ सुरक्षाकर्मी २०७२ साल भदौमा उक्त घटनामा मारिएका थिए।
“...२०७२ भदौ ७ को कालो दिनका नाइके र अदालतले दोषी करार गरेका अपराधीलाई माफी मिनाहाका लागि मन्त्रिपरिषद्बाट भएको सिफारिशले देशमा न्यायको हत्यालाई पुष्टि गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “जुन धरातलबाट विकसित नेतृत्व राज्यको कार्यकारी ओहदामा आसीन छ त्यसले क्रूरता र विध्वंसमा नै आफ्नो भविष्य देखेको छ।”
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आज बिहान रिहा भइसकेका छन्।