‘कोशी’ का आन्दोलनकारीको माग सम्बोधन गर्न जसपाको ध्यानाकर्षण
जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशको पुनः नामाङ्कनको मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
जसपा प्रवक्ता मनीषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै ‘कोशी’ नामकरण गरेसँगै त्यहाँका जनता पहिचानको आधारमा नाम हुनुपर्ने माग सहित आन्दोलनमा रहेकाले उनीहरूको मागलाई सम्बोधन गर्न माग गरेका हुन्। जनताका माग र आन्दोलनलाई बेवास्ता गर्नु लोकतन्त्रप्रतिको बेवास्ता भएको जसपाले बताएको छ।
विज्ञप्तिमा उल्लेख छ‚ ‘जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्ने माग र आन्दोलनलाई यथोचित रूपमा सम्बोधन गर्न, गराउन जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ।’
करीब एक महीनादेखि आन्दोलन जारी रहे पनि त्यसलाई गम्भीरतापूर्वक नलिएकाले वर्तमान सरकार पनि जनताको मागप्रति यसअघिका सरकार जस्तै असहिष्णु रहेको जसपाको ठहर छ। यसले उत्पीडित राष्ट्रियताप्रतिको सरकारको दृष्टिकोण उदाङ्गिएको जसपाले बताएको छ।
‘एक महीनादेखि प्रदेश नं १ मा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिनुले सरकारमाथि प्रश्न उठेको छ‚’ विज्ञप्तिमा उल्लेख छ‚ ‘पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यसअघि झैं वर्तमान सरकार पनि असहिष्णु देखियो। पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्यत देखियो।’
पहिचानको आन्दोलन कुनै समुदाय वा जाति विरुद्ध नभएकाले उत्पीडित समुदायको राष्ट्रियताप्रति राज्य नकारात्मक र सशङ्कित हुनुनपर्ने जसपाले प्रष्ट्याएको छ। सबै जनताको पहिचान र राजनीतिक अधिकार स्थापित भए राष्ट्रियता अझ बलियो हुने उसको जिकिर छ।
आन्दोलनमा क्रममा प्रहरीको लाठीप्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) लाई शहीद घोषणा गरी उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनका घाइतेहरूको उपचारको व्यवस्था मिलाउन जसपाले माग गरेको छ।