प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।
प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन्। लेखकले जारी गरेको ह्वीपमा कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न भनिएको छ।
प्रधानमन्त्री दाहालले चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्। संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लागेका हुन्।
उनी गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। त्यति वेला नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ६ दलले समर्थन गरेका थिए। उनीहरू सरकारमा पनि सहभागी भएका थिए।
राष्ट्रपतिको चुनावलाई लिएर नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए भने सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।