कांग्रेसले प्रतिपक्षमा बसेर राष्ट्रपतिमा दाबी गर्न मिल्दैन: महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन्।
विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले राष्ट्रपतिमा सत्तापक्षकै उम्मेदवार आउने बताए। “नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख पदमा दाबी गर्न मिल्दैन,” पोखरेलले भने।
उनले सत्तापक्षकै उम्मेदवारका लागि राष्ट्रिय सहमति गर्नुपर्ने जिकिर गरे। “राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो,” पोखरेलले भने। केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने उनको भनाइ थियो।
उनले सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट हुने बताए। सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएकाले सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने उनको भनाइ थियो।