गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा सुनुवाइ सकियो
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा लामिछानेका वकीलहरूले बहस गरेपछि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गरेका थिए। त्यसअघि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमले बहस गरेका थिए।
सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ भएको हो। यसमा आजै आदेश सुनाउने कि पछि सार्ने भन्ने टुङ्गो लागेको छैन।
अधिवक्ता रविराज बसौला र युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको नागरिकतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको भन्दै उनको प्रतिनिधि सभा सदस्य पद बदर गर्न माग गरेका छन्।