ओखलढुंगामा जसपाको दाबी
पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले ओखलढुंगा अरू पार्टीलाई छाड्न नसक्ने जनाएको छ।
गठबन्धनबाट ओखलढुंगामा संघ र एउटा प्रदेशमा नेपाली कांग्रेस र बाँकी एउटा क्षेत्रमा नेकपा माओवादी केन्द्रलाई दिने चर्चा चलिरहेका वेला कुनै एउटा क्षेत्र आफूले पाउनुपर्ने जसपा जिल्ला अध्यक्ष खेमराज खड्काले बताए।
खिजीदेम्बा, मोलुङ, चिसंखुगढी र सिद्धिचरण नगर क्षेत्रमा आफ्नो संगठन बलियो रहेको खड्काको दाबी छ। त्यस्तै, प्रदेश क्षेत्र नं. (ख) अन्तर्गत मानेभन्ज्याङ, सुनकोशी लगायतका क्षेत्र बलियो रहेको खड्काको भनाइ छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एक गाउँपालिका सहित दुई वटा वडा सहित १६ जनाले जितेका थिए।
स्थानीय निर्वाचनमा खिजीदेम्बामा जित हासिल गरेको र अन्य क्षेत्रमा पनि सम्मानजनक मत प्राप्त गरेकाले अन्य पार्टीलाई दिन हुने जसपाका जिल्ला तहका नेताहरूको दाबी छ।
जसपाले मंसीर ४ गतेको निर्वाचनका लागि प्रत्यक्षतर्फ प्रतिनिधि सभामा केन्द्रीय सदस्य जुद्धबहादुर राई, प्रदेश (क)मा खेमराज खड्का र नवराज गुरुङ र प्रदेश (ख)मा प्रभुराज श्रेष्ठ र दीपेन्द्र रुम्दालीको नाम सिफारिश गरेको छ।