गठबन्धन कार्यदलको संयोजकमा सिटौला
पाँच दलीय गठबन्धनको सीट बाँडफाँड कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन भएका छन्।
कार्यदलको सोमबार बसेको पहिलो बैठकले सिटौलालाई संयोजक तोकेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। “कार्यदलको बैठक र काम-कारबाही संयोजन गर्न कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई संयोजक चयन गरेका छौं,” कार्कीले भने।
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरिसकेको छ। त्यसका लागि सीट बाँडफाँड गर्न कार्यदल गठन गरेको छ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र जनार्दन शर्मा छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट बेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद राय र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
आज बसेको कार्यदलको पहिलो बैठकले संयोजक चयनसँगै सीट बाँडफाँडका विषयमा छलफल गरेको कार्कीले बताए। कार्यदलको अर्को बैठक साउन २६ गते अपराह्न ४ बजे बस्ने भएको छ।