स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले अपमान गरेको जसपाको निष्कर्ष (पूर्ण पाठ सहित)
जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरूले आफूहरूलाई अपमानित गरेको निष्कर्ष निकालेको छ।
वीरगञ्जमा जारी केन्द्रीय समिति बैठकमा भएको स्थानीय तह निर्वाचनको समीक्षामा गठबन्धनमा रहेका पाँच दलमध्ये खास गरी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले हेप्ने‚ अपमान गर्ने लगायतका क्रियाकलाप गरेको निष्कर्ष निकालेको हो।
राजनीतिक प्रतिवेदनमा उल्लेख छ‚ “केन्द्रीय समितिको जस्तो सम्मानपूर्ण‚ समानतायुक्त व्यवहार अधिकांश ठाउँका जिल्ला समितिहरूका बीचमा रहन सकेन। हाम्रा नेता कार्यकर्ताहरूले अत्यन्तै अपमानित‚ तिरस्कृत र हेपिएको महसुस गर्नुपर्ने अवस्था रह्यो।”
यस्तै‚ निर्वाचनमा कांग्रेस र माओवादी केन्द्र इमान्दार नभएको पनि आरोप जसपाले लगाएको छ। “मापदण्डमा ठिकै कुरा उल्लेख गरिएको भए पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका बीचमा अलग्गै तालमेल हुने र अरु दललाई तिरस्कार वा बेवास्ता गर्ने सम्भावनातर्फ हेरिएन‚” प्रतिवेदनमा उल्लेख छ‚ “जब यस्तै व्यवहारमा यस्तो अनुभव भयो समय बितिसकेको थियो।”
काग्रेस र माओवादी केन्द्रले यस्तो व्यवहार गर्नुमा आफ्ना नेता तथा कार्यकर्ताहरूको पनि कमजोरी रहेको जसपाले स्वीकार गरेको छ। प्रतिवेदनमा उल्लेख छ‚ “यसको अर्को पक्ष हेर्दा हाम्रा साथीहरूले स्थानीय राजनीतिक कृयाकलापमा आफ्नो हैसियत बनाउन नसकेको‚ शक्ति निर्माण गर्न नसकेको‚ वार्तामा जाने साथीहरूले आफ्नै साथीहरूको समेत विश्वास समेट्न नसकेको‚ वार्तामा आफ्नो पक्षलाई प्रभावकारी र तर्कसंगत ढंगले प्रस्तुत गरन् नसकेको आदि कुराहरु देखिएका छन्।”
स्थानीय तह निर्वाचनमा अपमानित भएको निष्कर्ष निकाले पनि जसपाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा रहेका दलहरूसँग सहकार्य कायम राख्ने बताएको छ। यसका साथै विचार र मुद्दा मिल्ने दलहरूसँग पनि निर्वाचनमा तालमेल गर्ने जसपाले निर्णय गरेको छ।