नेपालमा पनि देखियो ‘अफ्रिकन स्वाइन फिभर’
छिमेकी देश चीन र भारतमा रहेको ‘अफ्रिकन स्वाइन फिभर’ नेपालमा पनि देखा परेको छ।
पशु सेवा विभागका अनुसार, घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ नेपालमा पनि देखिएको हो। यो सरुवा रोगका कारण अहिलेसम्म एक हजार १९ सँगुर तथा बँगुर मरेको विभागले जनाएको छ।
विभागले काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमा सङ्क्रमण फैलिइसकेको जनाएको छ।
अफ्रिकन स्वाइन फिभर उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो। यो रोग अफ्रिकी महादेशमा मात्र सीमित रहेकोमा सन् २०१८ मा चीनमा देखा परेको थियो। त्यसपछि क्रमशः भारत र भुटानमा देखा परेको थियो।
गत चैतमा काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङ्गुर मरेका थिए। त्यसपछि चैतको अन्तिम साता नमूना सङ्कलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग रहेको पुष्टि भएको विभागले जनाएको छ।
अहिलेसम्म यो रोगको कुनै खोप वा प्रभावकारी उपचार छैन। यसबाट ठूलो आर्थिक क्षति हुने भएकाले बङ्गुर मरेमा वा सुँगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छ्टपटाउने जस्ता लक्षण देखिए प्रदेश तथा स्थानीय तहमा रहेका पशु सेवा निकायमा खबर गर्न विभागले अनुरोध गरेको छ।