ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन आवश्यक भएको बताएका छन्।
तनहुँको दमौलीमा शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनलाई सफल बनाइने बताए। कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म कायम रहने उनको भनाइ थियो।
सरकारमा हुँदा एमाले अध्यक्ष ओलीले देखाएको तानाशाही प्रवृतिका रोक्न गठबन्धन बनाएको देउवाको भनाइ थियो। “आफू बाहेक अरूको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि नदिने जस्तो ओलीको तानाशाही प्रवृत्ति रोक्न गठबन्धन आवश्यक छ,” देउवाले भने।
गठबन्धनलाई असफल बनाउने षड्यन्त्र भइरहेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्ता तत्त्वलाई चुनावको मैदानबाट परास्त गर्ने जिकिर गरे। गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो ।